काठमाडौं /५ जेठ- झापास्थित प्रस्तावित बिएण्डसी मेडिकल कलेजलाई काठमाडौं विश्वविद्यालय सम्बन्धन दिनका लागि चिकित्सा शिक्षा आयोगलाई सिफारिस ऐनमा नभएको प्रकृया भनिएको छ ।
विश्वविद्यालयको यो प्रकृयालाई वरिष्ठ चिकित्सक डा.गोविन्द केसील ‘विश्वविद्यालयका पदाधिकारीहरूले चालेको अवैध कदम’ भन्दै विरोध गरेका छन् ।
‘सिंगो देश कोभिडको कहरबाट गुज्रिरहेको समयमा निरीक्षणको फर्जी कागज बनाएर आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई निर्णय गर्ने केयुका उपकुलपति भोला थापा लगायतका पदाधिकारीहरू पदीय दुरूपयोग र भ्रष्टाचारमा चुर्लुम्म भएको प्रमाणित भएको छ,’ केसीले मंगलबार विज्ञप्ति जारी गरी भनेका छन्, ‘त्यसैले उनीहरूमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्काल भ्रष्टाचारको मुद्दा चलाएर पदमुक्त गरिनुपर्छ।’
केसीले हाल कायम ऐनका प्रावधानहरू नै कुल्चेर चिकित्सा शिक्षा आयोगलाई बाइपास गर्दै केयुले अवैध रूपमा सम्बन्धन दिने प्रयास गर्नु निन्दनीय रहेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । विज्ञप्तिमा भनिएको छ प्रधानमन्त्री र शिक्षामन्त्रीको ठाडो आदेशमा निर्णय भएको यस्तो कुनै पनि निर्णय स्वीकार हुने छैन ।
काठमाडौं विश्वविद्यालयले गरेको भनिएको निरीक्षण प्रतिवेदन ‘फर्जी’ रहेको र ‘यस्तो भ्रष्ट क्रियाकलाप गर्ने केयु उपकुलपति भोला थापालगायतका पदाधिकारीहरूमाथि तत्काल छानबिन र कारबाही गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगको समेत ध्यानाकर्षण गराउँछौं,’ केसीको विज्ञप्तिमा छ । साथै केसिले सम्बन्धन दिन गरिएको निर्णय तत्काल फिर्ता गर्न ध्यानाकर्षण गराएका छन् ।
बिएण्डसीलाई सम्बन्धन दिने निर्णय गरिसकेको भन्दै काठमाडौं विश्वविद्यालयले कार्यान्वयनका लागि चिकित्सा शिक्षा आयोगमा सोमबार पत्र लेखी पठाइसकेको छ ।



