बार्षिक मुल्यांकनका आधारमा कक्षा ८ को नतिजा प्रकाशन गर्ने निर्णय

काठमाडौं/ ५ जेठ -काठमाडौं महानगरपालिका नगरस्तरीय परीक्षा समितिले अधारभूत तह कक्षा ८ को बार्षिक मुल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने निर्णय गरेको छ ।

कोभिड -१९ को नयाँ भेरियन्ट सहितको दोस्रो लहर तिव्ररुपमा फैलिरहेको कारण विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्ने अवस्था नरहेकोले बार्षिक मुल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो ।

पहिलो तथा दोस्रो त्रैमासिक परीक्षाबाट ४० प्रतिशत,निरन्तर विद्यार्थीको मुल्यांकन गरी विद्यालयमा राखिएको विद्यालयको अभिलेखबाट ४० प्रतिशत र विद्यालय तथा विद्यार्थीको अनुकुल उपयुक्त वैकल्पिक मुल्यांकन विधि वा प्रकृया अपनाई २० प्रतिशतको आधारमा विद्यार्थीको मुल्यांकन गरी पठाउन सबै विद्यालयलाई सूचना जारी गरेको छ ।

विद्यालयले वार्षिक मुल्यांकन गरेर नगरपालिकालाई पठाएको विवरणलाई रुजु गरेर नगरपालिकाले नतिजा प्रकाशन गर्ने र मार्कसिट वितरण गर्ने शिक्षा अधिकारी रामप्रसाद सुवेदीले बताउनु भयो । साथै कोभिड -१९ महामारीका कारण विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्ने अवस्था नरहे पछि नगर स्तरीय परीक्षाको निकास खोलिएको सुवेदीले भन्नु भयो ।

काठमाडौं महानगरपालिकाले नगर क्षेत्र भित्र कक्षा आठ सञ्चालित सबै विद्यालयहरुलाई जेठ २५ गते सम्म kmcdoe.org मा विद्यार्थीहरुको विषयगत मूल्यांकन विवरण पठाउन समय सिमा तोकेको छ ।