काठमाडौँ /२८ असोज- त्रिभुवन विश्वविद्यालयले आफ्ना शिक्षकलाई आन्दोलनका कार्यक्रम फिर्ता लिई वार्ताबाट समस्याको सामाधान खोज्न अनुरोध गरेको छ ।
त्रिविले विज्ञप्ति निकाल्दै आंशिक शिक्षकहरुबाट केही सुझाब राखी विरोधका कार्यक्रमहरु गरिरहेको प्रति विश्वविद्यालयको ध्यानाकर्षण भएको जनाएको छ । साथै जारी आन्दोलनका सबै कार्यक्रम फिर्ता लिई वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेको हो । “आंशिक शिक्षकले राखेका विषयमा वार्ता र छलफलको माध्यमबाट निकास निकाल्न सकिने विषयमा विश्वविद्यालय विश्वस्त रहेको छ”, विज्ञप्तिमा भनिएको छ ।
त्रिविले लामो समयदेखि रहेको आंशिक शिक्षकको समस्यालाई दीर्घकालीन रुपमा व्यवस्थापन गर्नका लागि विश्वविद्यालयले जारी गरेको अतिरिक्त कक्षा व्यवस्थापन निर्देशिका २०७७ का सम्बन्धमा केही सुझाब राखी विरोध गरेको प्रति विश्वविद्यालयको ध्यानाकर्षण भएको विज्ञपितमा भनिएको छ । त्रिविका आंशिक शिक्षकले निर्देशिकाका सम्बन्धमा केही माग राखी आन्दोलनरत छन ।


