विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई जोड दिन शिक्षामन्त्रीको आग्रह

काठमाडौँ/ १० असोज – कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई जोड दिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आग्रह गर्नुभएको छ । शिक्षा पत्रकार समाजले आज आयोजना गरेको ‘वैकल्पिक सिकाइको कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका’ विषयक भर्चुअल छलफलमा उक्त कुरा बताउनु भएको हो ।


स्थानिय तहमा धमाधम विद्यालय खुलिरहेको अवस्थामा शिक्षा मन्त्रीले शैक्षिक संस्थाहरुमा सङ्क्रमण देखिएमा त्यसलाई नियन्त्रण गर्न गाह्रो हुने भएकाले हाललाई वैकल्पिक प्रणालीमा जोड दिन आग्रह गर्नुभएको हो ।

सरकारले आकस्मिक कार्ययोजना ल्याई असोजको पहिलो साताबाट कार्यान्वयन शुरु गरिसकेको र सबै स्थानीय तहका सम्बन्धित विद्यालयमा शिक्षकहरुलाई अनिवार्य पुग्नका लागि निर्देशन दिएको जनाउनुभयो । उहाँले शिक्षक, अभिभावक र विद्यार्थीको सम्पर्क स्थापितका लागि सामुदायिक विद्यालयमा निःशुल्क र निजी विद्यालयमा सहुलियत रुपमा क्लोज युनिट ग्रुप (सियुजी) मा आबद्ध गराई न्यूनतम सिकाइको सुनिश्चितकामा प्राथमिकता दिनुका साथै सञ्चार सहजता बढाइएको बताउनुभयो ।


धेरै स्थानिय तहले विद्यार्थीलाई भौतिक रुपमा उपस्थित गराएर पठपाठन सञ्चालन गरिरहेका छन् ।