शिक्षण सिकाई अनुदानको रकम निकासा गर्न शिक्षकहरूको माग


काठमाडौं/ ५ असोज – प्रदेश पाँचका सामुदायिक विद्यालयमा कार्यरत अनुदान शिक्षकहरूले प्रदेश पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बराललाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।


सामुदायिक विद्यालयमा शिक्षण सिकाई अनुदान कोटामा कार्यरत शिक्षकहरूले आफुहरूको तलब निकासा सहितको माग राखि ध्यानाकर्षण पत्र बुझाएका हुन् । अहिलेसम्म शिक्षण सिकाई अनुदानको रकम निकासा नभएपछि उनीहरुले ध्यानाकर्षण पत्र बुझाएको जानकारी दिएका छन् ।


पहिलो चरणमा देशैभरिका शिक्षा विकास तथा समन्वय ईकाईमा ध्यानाकर्षण बुझाउने कार्यक्रम भइसकेको र दोस्रो चरणमा प्रदेशमा ध्यानाकर्षण गराउने कार्यक्रम अन्तरगत यो कार्यक्रम रहेकोे बताएका छन् ।


यसअघि गत साउनमा शिक्षा इकाई मार्फत शिक्षामन्त्रीलाई ध्यानाकर्षण बुझाउँदा पनि हालसम्म कुनै प्रतिक्रिया नआएको उनीहरुको भनाइ छ । पटक पटक सम्बन्धित निकायमा ध्यानाकर्षण बुझाउँदा पनि आफूहरूका मागहरूको वेवास्था गरिएको उनिहरुको भनाइ छ ।

सामुदायिक विद्यालयको शिक्षण सुधारका लागि मुख्य विषय अंग्रेजी , गणित र विज्ञान शिक्षकको अभाव परिपूर्तिका लागि नेपाल सरकारले शिक्षक अभाव भएका तथा शुन्य दरबन्दी भएका विद्यालयहरूलाई २०७५ सालदेखि एकमुष्ट रकम प्रदान गर्दै आएको थियो । यो वर्ष कोरोनाको कारण जनाउँदै गत असार महिनामै निकासा हुनुपर्ने रकम निकासा नगरेपछि शिक्षकहरु आन्दोलित बनेका हुन ।