काठमाडौं/२९ असोज – शिक्षामन्त्री सस्मित पोखरेलले देशभरका १०९ ठूला सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विस्तार तथा सुदृढीकरणका लागि चालु आर्थिक वर्षमा ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री पोखरेलले सामुदायिक विद्यालयप्रति बढ्दै गएको विद्यार्थी तथा अभिभावकको आकर्षण र विश्वासलाई थप मजबुत बनाउन शिक्षा क्षेत्रको रूपान्तरणका लागि सरकारले महत्वपूर्ण कदम अघि बढाएको बताएका हुन् ।
उनका अनुसार उत्कृष्ट नतिजा हासिल गर्दै दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर पूर्वाधार विकासको योजना कार्यान्वयनमा ल्याइएको छ । पहिलो चरणमा ८९ विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा गरिएको छ ।
यी विद्यालयमा प्रतिविद्यालय करिब ६ करोड रुपैयाँको लागतमा १२ कोठे तीनतले आधुनिक भवन निर्माण गरिनेछ । भवनमा सुविधासम्पन्न कक्षाकोठा, व्यवस्थित प्रयोगशाला र पुस्तकालयको व्यवस्था गरिने मन्त्री पोखरेलले उल्लेख गरेका छन् ।
आधुनिक पूर्वाधार निर्माणले विद्यार्थीका लागि सुरक्षित, व्यवस्थित र प्रभावकारी सिकाइ वातावरण तयार गर्न सहयोग पुग्ने उनको विश्वास छ ।
मन्त्री पोखरेलले केही सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढिरहेको तर कतिपय विद्यालय विद्यार्थी अभावको समस्याबाट गुज्रिरहेको अवस्थाप्रति पनि सरकार सचेत रहेको बताएका छन् । हाल ठूला सामुदायिक विद्यालयबाट पूर्वाधार सुधारको काम सुरु गरिए पनि आगामी दिनमा देशभरका सबै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार समान रूपमा सुदृढ बनाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।
सामुदायिक विद्यालयको गुणस्तर सुधार, आधुनिक शैक्षिक पूर्वाधारको विकास र सबै विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यसहित अघि बढाइएको यो योजनाले सार्वजनिक शिक्षाप्रति जनविश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।


