काठमाडौँ /२ असोज – सशस्त्र प्रहरी गण नम्बर १, नक्सालमा कार्यरत १४ जना प्रहरी कर्मचारीले ‘हस्पिटालिटी एन्ड फुड म्यानेजमेन्ट’ तालिम पूरा गरेका छन् । शुभश्री कलेज अफ म्यानेजमेन्टको सहकार्यमा सञ्चालन गरिएको तालिम दुई चरणमा सम्पन्न भएको हो ।
गण नम्बर १, नक्सालमा कार्यरत प्रहरी कर्मचारीको हस्पिटालिटी तथा खाद्य व्यवस्थापनसम्बन्धी ज्ञान र व्यावहारिक सीप अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको थियो ।
तालिमको पहिलो चरण भदौ १४ देखि १६ गतेसम्म र दोस्रो चरण भदौ २१ देखि २३ गतेसम्म सञ्चालन भएको थियो । दुवै चरणमा गरी १४ जना प्रहरी कर्मचारी सहभागी भएका थिए ।
तालिम सम्पन्न भएपछि असोज १ गते आयोजित कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको हो । गण प्रमुख प्रहरी उपरीक्षक अपिल राज बोहराको प्रमुख आतिथ्य तथा शुभश्री कलेज अफ म्यानेजमेन्टकी प्रिन्सिपल मनिता वलीको उपस्थितिमा प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा गण प्रमुख बोहराले तालिमबाट हासिल गरेको ज्ञान र सीपलाई कार्यक्षेत्रमा अनुशासित, सक्रिय तथा व्यावहारिक रूपमा प्रयोग गर्न सहभागीलाई निर्देशन दिए । उनले प्राप्त सीपको प्रभावकारी प्रयोगमार्फत सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
शुभश्री कलेज अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालन गरिएको तालिमले सशस्त्र प्रहरी कर्मचारीको व्यावसायिक दक्षता र कार्यसम्पादन क्षमता अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।




