भोटेकोशी बाढीपीडितका लागि प्याब्सनको १२ करोड सहयोग

काठमाडौं/२६ भदौ – निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले भोटेकोशी बाढीबाट प्रभावित नागरिक तथा विद्यालयका लागि १२ करोड रुपैयाँ सहयोग गरेको छ ।


बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको प्याब्सनले जनाएको छ । शुक्रबार सिंहदरबारमा अर्थमन्त्रीमार्फत रकम हस्तान्तरण गरिएको छ ।


भोटेकोशी बाढीका कारण जनजीवन प्रभावित हुनुका साथै विद्यालय भवन, शैक्षिक सामग्री र पूर्वाधारमा समेत क्षति पुगेको छ । विद्यार्थी र उनीहरूका परिवारसमेत प्रभावित भएपछि राहतसँगै शिक्षा क्षेत्रको क्षति न्यूनीकरण र शैक्षिक निरन्तरताका लागि सहयोग आवश्यक रहेको प्याब्सनको भनाई छ ।


प्याब्सन केन्द्रका अध्यक्ष कृष्ण अधिकारीले विपद्का बेला राज्यको राहत तथा उद्धार अभियानमा सहयोग गर्नु निजी क्षेत्रको सामाजिक उत्तरदायित्व भएको र प्रभावित नागरिक, विद्यार्थी र विद्यालयको पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले संस्थागत रूपमा रकम प्रदान गरिएको बताए ।


रकम हस्तान्तरण कार्यक्रममा प्याब्सन अध्यक्ष कृष्ण अधिकारी पूर्व अध्यक्ष टिकाराम पुरी, प्रमुख सल्लाहकार डीके ढुंगाना, सहअध्यक्ष गोपाल आचार्य, महासचिव आरबी कटुवाल, बागमती प्रदेश अध्यक्ष मुरारीप्रसाद संजेल र काठमाडौं जिल्ला अध्यक्ष नवराज अधिकारीलगायत प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


प्याब्सनले विपद्बाट प्रभावित विद्यालय तथा विद्यार्थीको शैक्षिक निरन्तरता कायम गर्न, छात्रवृत्ति उपलब्ध गराउन, क्षतिग्रस्त विद्यालय पुनःस्थापना गर्न र प्रभावित परिवारलाई राहत उपलब्ध गराउने कार्यमा राज्यसँग सहकार्य गर्ने जनाएको छ ।