काठमाडौँ /२२ भदौ-सरकारी कागजको एक टुक्राले भन्यो –
“नछुनू कपाल, नटोक्नू ड्रेस“
अनि विद्यालयको गेटबाटै
अनुशासनले आत्महत्या ग¥यो !
त्यसै दिनदेखि
नङमा नंग्राको राज आयो,
कपालमा रङको बजार लाग्यो,
मुन्द्रा ट्याटु छालामा होइन
सोझै मस्तिष्कमा खोपिन थाल्यो।
भोला सुपारी चपाउने मुखले
अब अक्षर चपाउन मान्दैन,
चुरोटको धुवाँमा
वर्णमाला हराउन थाल्यो।
गोजीमा मोबाइल होइन,
कक्षामा अर्कै संसार बज्छ,
चक्कु बोकेको नानीको आँखामा
गुरुलाई काट्ने आगो बल्छ!
कक्षा कार्य
गृहकार्य
परियोजना कार्य
अहँ!
बालमतलबझैँ गर्छ
बोल्न खोज्छ शिक्षक
तर विद्यार्थी बोल्छ –
“तँ को होस् मलाई रोक्ने?“
शिक्षकको हातबाट छडी मात्र होइन,
अधिकार पनि खोसिएको छ,
दरबारले उसलाई
कक्षामा बाँधिएको चौकीदार बनाएको छ।
राता आँखामा झुमेर कक्षामा निन्द्रा घुर्छ
“सर !यो दाइ त रात भर पब्जी खेल्छ“
मिनि टिफिनलाई बाल दिंदैन।
घण्टीपिच्छे शौचालय धाउँछ
के खान्छ कुन्नि
आँखा राता र अनुहार पसिनिएर आउँछ
गुरुको भूमिकाको गोरू !
न हप्काउँदा हेर्छ न सम्झाउँदा टेर्छ
व्यवस्थापन के गरूँ?
उर्दी माथिबाट आउँछ,
गाली तलबाट आउँछ,
बीचमा उभिएको प्रधानाध्यापक
न सास फेर्न सक्छ, न कुरा गर्न सक्छ।
अभिभावक?
भन्छन् – “मेरो छोरो स्वतन्त्र भयो“
स्वतन्त्रताको अर्थ
नंगो हुँदै हिड्नु हो भन्ने बुझेपछि
भोलि त्यो स्वतन्त्रता
कसको घाँटी रेट्न जान्छ?
आमसमस्या सरकारले सुन्नैपर्छ
अप्ठ्यारोलाई सिंहदरबारले गुन्नैपर्छ
तिमीले ड्रेसमा काँची चलाउन रोक्यौ,
तर भोलि तिनै हातले देशको नक्सा च्यात्दा
कुन काँचीले रोक्ने ?
तिमीले कपाल नाप्न रोक्यौ,
तर भोलि त्यही कपालभित्र लुकेको लागूऔषधले
पुस्ता सखाप पार्दा
कुन उर्दीले रोक्ने ?
शिक्षा लुगा मात्र होइन बन्धु,
अनुशासन नै पहिलो किताब हो।
जुन विद्यालयले नङ काट्न सिकाउँदैन,
त्यसले देश काट्न सिकाउँछ।
आज मुन्द्रा ट्याटु बोकेर हिँड्नेहरु
भोलि के बन्छन्?
डाक्टर? इन्जिनियर? शिक्षक?
होइन!
ती बन्छन् – समाजका घाउ!
त्यसैले शिक्षक उठ!
व्यवस्थापन बोल!
अभिभावक जाग!
यो उर्दी कपालको विरुद्ध होइन,
यो तिम्रो भविष्यको विरुद्धको उर्दी हो।
कृष्ण सुदामा
शिक्षक, नयाँकिरण कमलकुसुम मावि, भोजाड, चितवन



