काठमाडौँ /२६ असार – शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श संस्थाहरुलाई पनि तीन प्रतिशत समता कर लाग्ने जनाएको छ । शैक्षिक परामर्श संस्था, भाषा शिक्षण केन्द्र तथा तयारी कक्षाको सञ्चालनलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ असार २५ गते नेपाल राजपत्रमा जारी गर्दै सो व्यवस्था गरेको हो ।
नियमावलीको परिच्छेद ४ मा आय व्यय तथा धरौटी सम्बन्धी दफा ८ को उपदफा ३ र ४ मा उक्त प्रावधान राखिएको छ । दफा ८ को उपदफा ३ मा अनुमति प्राप्त संस्थाको परामर्शमा अध्ययनका लागि विदेश गएका विद्यार्थीहरुको विवरण र निजहरुबाट सम्बन्धित शिक्षण संस्थालाई तिरेको शुल्कबापत संस्थालाई कुनै आम्दानी भए नभएको विवरण मन्त्रालयमा त्रैमासिक रूपमा पेस गर्नु पर्ने व्यवस्था छ ।
यसैगरी सोही दफाको उपदफा ४ मा अनुमतिपत्र प्राप्त संस्थाले विद्यार्थी र विद्यार्थी अध्ययरत शैक्षिक संस्थाबाट प्राप्त गरेको आम्दानीमा नेपाल सरकारले निर्धारण गरेको शिक्षा समता शुल्क लागू हुने उल्लेख गरिएको छ ।
नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत निजी विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूको शुल्कमा ३ प्रतिशत ’शिक्षा समता शुल्क’ लगाउने घोषणा गरेको थियो । साथै त्यसैका आधारमा शैक्षिक परामर्श संस्थाहरुको आम्दानीमा पनि यो कर लागु हुने भएको छ । यो व्यवस्था आगामी साउन १ गतेदेखि लागू हुने छ ।



