नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेस गर्ने शिक्षक विरुद्ध मुद्दा

सिराहा/२४ असार – अख्तियार अनुसन्धान आयोग कार्यालयले नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेस गर्ने शिक्षक विरुद्ध मुद्‍दा दायर गरेको छ ।


सिराहाको धनगढीमाई नगरपालिका स्थित जनता माध्यमिक विद्यालयमा कार्यरत शिक्षक गुन्जेश्वर मण्डल विरुद्ध मुद्दा दायर गरेको हो ।


उनको पिसिएल र स्नातक तहको शैक्षिक योग्यताको प्रमाणपत्रहरू नक्कली रहेको आयोगको आरोप छ । मण्डलले मावि तृतीय श्रेणीमा शिक्षक पदको नियुक्ति लिँदाका भारत स्थित बिहार इन्टरमेडियट एजुकेशन काउन्सिल, पट्नाबाट आईएससी र चौधरी चरण सिंह विश्वविद्यालय मेरठबाट विज्ञानमा स्नातक तह उत्तीर्ण गरेको भनी झुट्‍टा शैक्षिक प्रमाणपत्र पेस गरेको आयोगले जनाएको छ ।


निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिबाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।