बागमती प्रदेशका विव्यस पदाधिकारीहरूको क्षमता विकास कार्यशाला

काठमाडौँमा/१८ असार – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ, नेपाल आयोजनामा सञ्चालित दुई दिने “विद्यालय व्यवस्थापन समितिहरूको क्षमता विकास कार्यशाला“ सम्पन्न भएको छ ।


बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय, हेटौँडाको सहयोगमा असार १६ र १७ गते उक्त कार्यक्रम आयोजना गरिएको थियो । ’हामी सुधार्छौँ हाम्रो विद्यालय’ भन्ने राष्ट्रिय अभियान अन्तर्गत सामुदायिक विद्यालयहरूको शैक्षिक तथा व्यवस्थापकीय गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यशाला आयोजना गरिएको हो ।


बागमती प्रदेशका १३ वटै जिल्ला र केन्द्रीय महासङ्घको सहभागिता
कार्यशालामा बागमती प्रदेशका सबै १३ वटा जिल्लाका विद्यालय व्यवस्थापन समिति (विव्यस) का अध्यक्ष तथा सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो । यसका साथै सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालको केन्द्रीय समितिको १५ गते सम्पन्न राष्ट्रिय सम्मेलनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको समेत कार्यशालामा विशेष सहभागिता रहेको थियो ।


प्रदेश सरकारको समीक्षा र सुझाव प्रस्तुत
कार्यक्रममा सहभागीहरूले बागमती प्रदेश सरकारले शिक्षा क्षेत्रको सुधार र विद्यालय व्यवस्थापनका लागि हालसम्म गरेका कार्यहरूको समीक्षा गरेका थिए । सो क्रममा सहभागी विव्यस प्रतिनिधिहरूले प्रदेश सरकारले चालेका सकारात्मक कदमहरूको प्रसंशा गर्दै आगामी दिनमा विद्यालय तहको शिक्षालाई अझ व्यावहारिक र गुणस्तरीय बनाउन सरकार समक्ष विभिन्न ठोस सुझावहरू समेत प्रस्तुत गर्नुभएको थियो ।


विज्ञहरूद्वारा विभिन्न सत्रमा सहजीकरण
दुई दिनसम्म चलेको उक्त कार्यशालामा शिक्षा क्षेत्रका स्थापित विज्ञ तथा अभियन्ताहरूले छुट्टाछुट्टै समसामयिक विषयहरूमा कार्यपत्र प्रस्तुत गर्दै सहजीकरण गरे ।


पूर्व सचिव डा. हरि लम्साल ’विद्यालय शिक्षाको व्यवस्थापनमा साझेदारी मोडेलः अभिभावक र समुदाय कहाँ?’ अनिलमणी बज्राचार्य (प्राविधिक शिक्षा विज्ञ) ’सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा’ दीपक शर्मा (पूर्व महानिर्देशक, शिक्षा तथा मानवस्रोत विकास केन्द्र) ’सामुदायिक शिक्षाः सरकारको नीति र समुदायको नेतृत्व’ सोमत घिमिरे (स्थानीय शासन विद्) ’शिक्षाको स्थानीयकरण र विकेन्द्रीकरण के हुनुपर्ने, के भयो?’ अभिषेक घिमिरे (शिक्षा अभियन्ता) ’विद्यालय र समुदायको दुरी कति ? सम्बन्ध कस्ता ?’ विषयमा प्रस्तुत तथा सहजीकरण गरेका थिए ।


यसका साथै कार्यशालाका विभिन्न महत्त्वपूर्ण सत्रहरूमा प्रसिद्ध शिक्षाविद् डा. विद्यानाथ कोइराला, शिक्षा अभियन्ता पूर्ण प्रसाद दवाडी र महासङ्घका पूर्व अध्यक्ष गुणराज मुक्तानले समेत सहभागीहरू माझ गहन सहजीकरण गरेका थिए ।


कार्यशाला समापनको अवसरमा सहभागीहरूले यहाँ सिकेका ज्ञान, सीप र नीतिगत स्पष्टतालाई आ–आफ्नो विद्यालय र स्थानीय समुदायमा व्यावहारिक रूपमै लागू गरी सामुदायिक विद्यालयको साख उच्च बनाउने प्रतिबद्धता व्यक्त गरेका छन ।