काठमाडौँ/१७ असार – शिक्षा, प्रविधि, सार्वजनिक नीति तथा शैक्षिक नवप्रवर्तनका क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएका शैलेन्द्र झा शिक्षा तथा खेलकुद मन्त्रालयको सल्लाहकारमा नियुक्त हुनुभएको छ ।
शिक्षा प्रणाली सुधार, नीति निर्माण, युवा सशक्तीकरण र प्रविधिमैत्री शिक्षाको क्षेत्रमा सक्रिय झाको नियुक्तिलाई मन्त्रालयको नीतिगत तथा संस्थागत सुधारमा महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
झा हाल अमेरिकी विदेश मन्त्रालयको प्रतिष्ठित ह्युबर्ट एच। हम्फ्रे फेलोसिप (Hubert H. Humphrey Felloship २०२५-२६) अन्तर्गत अमेरिकाको भ्यान्डरबिल्ट विश्वविद्यालयमा अध्ययन तथा व्यावसायिक अनुसन्धानमा संलग्न हुनुहुन्थ्यो । उक्त कार्यक्रममार्फत झाले शिक्षा, नेतृत्व, सार्वजनिक नीति तथा सुशासनका विषयमा अध्ययनसँगै विभिन्न अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गरिरहनुभएको छ ।
यसअघि झा काठमाडौं महानगरपालिकाको शहरी योजना आयोगमा शिक्षा, प्रविधि तथा सामाजिक नवप्रवर्तन हेर्ने बोर्ड सदस्यको रूपमा कार्यरत हुनुहुन्थ्यो । उहाँले महानगरको शिक्षा विभाग, सामाजिक विकास विभाग तथा अनुसन्धान र नवप्रवर्तनसम्बन्धी नीति निर्माण, योजना तर्जुमा, स्रोत व्यवस्थापन तथा अनुगमनको नेतृत्व गर्नुभएको थियो । उहाँको नेतृत्वमा सीपमेला, प्राविधिक तथा व्यावसायिक शिक्षा, ‘बुक फ्रि फ्राइडे’, सिर्जनात्मक सिकाइ, विद्यालय सौन्दर्यीकरण, शिक्षक क्षमता विकास, अनुसन्धानमा आधारित शैक्षिक कार्यक्रम तथा विशेष विद्यालय सुदृढीकरणजस्ता कार्यक्रम सञ्चालन भएका थिए ।
शिक्षा क्षेत्रमा झाको योगदान काठमाडौं महानगरमा मात्र सीमित छैन । उहाँले टिचर्स फर नेपालमा सञ्चालन निर्देशक, भर्ती तथा छनोट निर्देशक र भर्ती व्यवस्थापकका रूपमा करिब आठ वर्ष काम गर्दै संस्थागत रणनीति, मानव स्रोत व्यवस्थापन, शिक्षक छनोट प्रणाली, नेतृत्व विकास, सञ्चार तथा साझेदारी विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
झा बीआइटीएस लिडर इन्टरनेश्नल प्रा।लि।का संस्थापक अध्यक्ष पनि हुनुहुन्छ । उक्त संस्थामार्फत उहाँले स्मार्ट लर्निङ, नवप्रवर्तनमा आधारित सिकाइ केन्द्र, अन्तरपुस्ते शिक्षा, प्राविधिक तथा व्यावसायिक तालिम, युवा उद्यमशीलता, रोजगारी प्रवद्र्धन, नेतृत्व विकास तथा संस्थागत क्षमता अभिवृद्धिका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ ।
शैक्षिक रुपमा झाले जर्मनीबाट सूचना तथा सञ्चार इन्जिनियरिङ, फिलिपिन्सबाट विकास व्यवस्थापन तथा बंगलादेशबाट एप्लाइड इकोनोमिक्समा स्नातकोत्तर उपाधि हासिल गर्नुभएको छ । उहाँले नेपालको शिक्षा प्रणाली सुधारसम्बन्धी अनुसन्धानपसमेत गर्नुभएको छ ।
दक्षिण कोरिया, केन्या, बंगलादेश, अष्ट्रेलिया, चिली, थाइल्यान्ड, भारत, फिलिपिन्स तथा युरोपका विभिन्न देशमा आयोजना भएका शिक्षा, नेतृत्व, विपद् जोखिम न्यूनीकरण, सार्वजनिक नीति र नवप्रवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन र कार्यशालामा उहाँले नेपालको प्रतिनिधित्व गर्नुभएको छ ।
शिक्षा प्रशासन, सार्वजनिक नीति, सुशासन, नेतृत्व विकास, रणनीतिक योजना, उद्यमशीलता, परियोजना व्यवस्थापन, प्रविधि र नवप्रवर्तन उहाँका प्रमुख विशेषज्ञताका क्षेत्र हुन् । शिक्षा सुधार, युवा विकास, राजनीतिक नेतृत्व, सामाजिक रूपान्तरण तथा सार्वजनिक नीतिका विषयमा उहाँका विभिन्न अनुसन्धान, लेख र विश्लेषण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय माध्यममा प्रकाशित छन् ।
शिक्षा तथा खेलकुद मन्त्रालयमा सल्लाहकारका रूपमा झाको नियुक्तिसँगै विद्यालय शिक्षा सुधार, सीपमूलक शिक्षा विस्तार, डिजिटल शिक्षा, अनुसन्धानमा आधारित नीति निर्माण तथा शिक्षा क्षेत्रमा नवीन सोच र प्रभावकारी कार्यान्वयनलाई थप गति मिल्ने अपेक्षा गरिएको छ ।



