नतिजालाई लिएर आन्दोलनमा रहेका विद्यार्थीलाई गालीगलौज नगर्न शिक्षामन्त्रीको आग्रह

काठमाडौँ /११ असार – शिक्षामन्त्री सस्मित पोखरेलले शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका कुनै पनि व्यक्ति वा समूहप्रति सामाजिक सञ्जालमा दुर्व्यवहार, गालीगलौज वा असम्मानजनक टिप्पणी नगर्न अनुरोध गरेका छन् । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेको विषयलाई लक्षित गर्दै अनुरोध गरेका हुन् ।


पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रक्रिया सन्दर्भमा बोल्दै नतिजा प्रति स्पष्ट र विश्वस्त रहेको र नतिजा समयमै प्रकाशनमा कुनै हतार नगरिएको बताउका छन् । उनले आवश्यक जनशक्ति थप गरी र अनावश्यक प्रशासनिक प्रक्रियाहरू छोट्याई नतिजा प्रकाशित हुनुपर्ने समयमा नै प्रकाशित गरिएको हो प्रस्ट पारेका छन् ।


“तथापि, यस विषयमा शान्तिपूर्ण रूपमा आफ्नो धारणा राख्दै गरिएको आन्दोलनप्रति हामी सम्मान व्यक्त गर्दछौँ । लोकतान्त्रिक समाजमा आफ्ना आवाज उठाउने अधिकारको सम्मान गरिनुपर्छ” उनले भनेका छन् ।


साथै केही समाचार तथा सामाजिक सञ्जालका प्रतिक्रियाहरूमा विद्यार्थीहरूप्रति गरिएका केही नकारात्मक तथा असम्मानजनक टिप्पणीहरूमा ध्यानाकर्षण भएको जनाएका छन् । उनले भनेका छन् “शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका कुनै पनि व्यक्ति वा समूहप्रति सामाजिक सञ्जालमा दुर्व्यवहार, गालीगलौज वा असम्मानजनक टिप्पणी नगर्न सबैमा अनुरोध गर्दछु ।”