१२ को नतिजासम्बन्धी उठेका प्रश्नबारे शिक्षामन्त्रीको प्रस्टिकरण

काठमाडौँ/६ असार – शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कक्षा १२ को नतिजाका सन्दर्भमा उठेका प्रश्नहरूको प्रस्टिकरण दिएका छन् । छोटो समयमै नतिजा प्रकाशन गर्दा धेरै त्रुटि हुने, उत्तरपुस्तिका परीक्षणमा विश्वसनीयता नहुने, हतारमा परीक्षण गर्दा विद्यार्थीले प्राप्त गर्ने अंकमा फरक हुने लगायतका सवाल उठेपछि प्रस्टिकरण दिएका हुन् ।


पोखरेलले यस वर्षको नतिजा “असामान्य रूपमा छिटो” आएको भन्दा पनि विगतमा नतिजा अनावश्यक रूपमा ढिलो आउने गरेको अवस्था सुधारिएको र नतिजा प्रकाशित हुनुपर्ने उचित समयमै प्रकाशित गरिएको बताए ।


यसैगरी उत्तरपुस्तिका जाँचमा हतार नगरिएको बरु आवश्यक जनशक्ति बढाइएको, सम्परीक्षणका लागि काठमाडौँ ल्याउनुपर्ने बाध्यता हटाइएको छ, उत्तरपुस्तिका लामो समयसम्म रोकिराख्ने अभ्यास अन्त्य गरिएको र परीक्षण प्रक्रिया समयमै सुरु गरिएको जानकारी दिए ।


गत वर्षको तुलनामा यस वर्ष उत्तीर्ण प्रतिशत करिब ८ प्रतिशतले वृद्धि भएको तथ्य पनि स्मरण गराएका छन् ।


हेर्नुहोस उनको भनाई


१. नतिजा छिटो प्रकाशित गर्नका लागि विगतमा अपनाईँदै आएका कुनै पनि आवश्यक प्रक्रिया हटाइएको छैन ।


२. विगतमा उत्तरपुस्तिका परीक्षणपश्चात् सम्परीक्षणका लागि सबै सामग्री काठमाडौँ ल्याउने व्यवस्था थियो। यस वर्ष भने सम्परीक्षण सम्बन्धित स्थानमै गर्न सकिने व्यवस्था मिलाइएकाले काठमाडौँ ल्याउनुपर्ने बाध्यता हटाइएको छ ।


३. उत्तरपुस्तिका अनावश्यक रूपमा लामो समयसम्म रोकिराख्ने प्रवृत्तिमा नियन्त्रण गर्दै परीक्षण प्रक्रिया समयमै सुरु गरिएको हो। यसको अर्थ कसैलाई हतारहतार परीक्षण गर्न लगाइएको भने होइन ।


४. परीक्षण कार्यलाई प्रभावकारी बनाउन विगतभन्दा बढी जनशक्ति परिचालन गरिएको छ र अनावश्यक प्रशासनिक तथा प्रक्रियागत ढिलासुस्ती हुन दिइएको छैन ।


५. च्भतयतबष्लिन शुल्क वृद्धि यस सरकारले गरेको निर्णय होइन। उक्त शुल्क वृद्धि गत वर्षको पूरक परीक्षादेखि नै लागु भएको हो र यस सम्बन्धमा वर्तमान सरकारले कुनै नयाँ निर्णय गरेको छैन ।


यस वर्ष नतिजा “असामान्य रूपमा छिटो” आएको भन्दा पनि विगतमा नतिजा अनावश्यक रूपमा ढिलो आउने गरेको अवस्था सुधारिएको हो। हामीले नतिजा प्रकाशित हुनुपर्ने उचित समयमै प्रकाशित गरेका मात्र हौँ ।


पुनः स्पष्ट पार्न चाहन्छु, उत्तरपुस्तिका जाँचमा हतार गरिएको होइन । बरु आवश्यक जनशक्ति बढाइएको छ, सम्परीक्षणका लागि काठमाडौँ ल्याउनुपर्ने बाध्यता हटाइएको छ, उत्तरपुस्तिका लामो समयसम्म रोकिराख्ने अभ्यास अन्त्य गरिएको छ, र परीक्षण प्रक्रिया समयमै सुरु गरिएको छ ।


साथै, गत वर्षको तुलनामा यस वर्ष उत्तीर्ण प्रतिशत करिब ८ प्रतिशतले वृद्धि भएको तथ्य पनि स्मरण गराउन चाहन्छु ।