काठमाडौँ /४ असार – त्रिभुवन विश्वविद्यालयले कानून संकाय अन्तर्गत स्नातक तह बिएएलएलबीमा नयाँ विद्यार्थी भर्नाका लागि लिइने प्रवेश परीक्षा फाराम अनलाइन मार्फत भर्न सकिने गरी खुला गरेको छ । १० सेमेस्टर (५ वर्षे) स्नातक (बिएएलएलबी) तह शैक्षिक सत्र ०८३/०८४ प्रथम सेमेस्टरमा नयाँ विद्यार्थी भर्नाका लागि आवेदन खुला गरेको हो ।
कानून सङ्काय अन्तर्गतका आङ्गिक क्याम्पसहरू नेपाल ल क्याम्पस, प्रदर्शनी मार्ग, काठमाडौँमा १६० सिट, पृथ्वीनारायण क्याम्पस, पोखरामा ८० सिट, बुटबल बहुमुखी क्याम्पस, बुटबलमा ७० सिट, महेन्द्र बहुमुखी क्याम्पस, बाँके, नेपालगञ्जमा ७० सिट, महेन्द्र बहुमुखी क्याम्पस, धरानमा ७० सिट र सम्बन्धन प्राप्त नेशनल ल कलेज, ललितपुरमा १२० सिट गरी जम्मा ५७० (पाँच सय सत्तरी) सिटका लागि आवेदन माग गरिएको छ ।
उक्त शैक्षिक कार्यक्रममा भर्ना हुन इच्छुक विद्यार्थीहरूको असार ५ गतेदेखि अनलाइन मार्फत प्रवेश परीक्षाको फाराम भर्न सकिने सूचनामा उल्लेख छ । अन्य विस्तृत विवरण वेबसाइट www.fol.edu.np वा fol.tu.edu.np मा हेनै सकिने छ ।



