युलेन्सका १९२ विद्यार्थी दीक्षित

ललितपुर/३१ जेठ – ललितपुरको खुमलटार र काठमाडौंको बाँसबारी गरी दुई स्थानमा सञ्चालनमा रहेको युलेन्स स्कुलका १९२ विद्यार्थी दीक्षित भएका छन् । शनिवार आयोजना गरिएको एक समारोहबीच कक्षा १२ तथा इन्टरनेसनल ब्याकलोरियट डिप्लोमा प्रोग्राम (आईबीडीपी) मा उत्तीर्ण भएका विद्यार्थीहरूलाई स्कुलले दीक्षित गरेको हो ।


राष्ट्रिय परीक्षा बोर्डको परीक्षाबाट उत्तीर्ण भएका ५६ जना र आईबीडीपी कार्यक्रमअन्तर्गत उत्तीर्ण भएका १३६ जना विद्यार्थी दिक्षित भएको विद्यालयले जनाएको छ । विद्यार्थीहरूको शैक्षिक यात्राको महत्त्वपूर्ण उपलब्धिलाई उत्सवका रूपमा दीक्षान्त कार्यक्रम गर्ने गरेको प्रधानाध्यापक एकता राणाले बताइन् ।


कक्षा १२ र आईबीडीपी कार्यक्रममा उत्तीर्ण भएका विद्यार्थीहरू उच्च शिक्षाका लागि विश्व विद्यालयहरूमा अध्ययन गर्न जाने हुँदा शैक्षिक वातावरणका बीच दीक्षान्त समारोह आयोजना गर्ने गरिएको स्कुलका अध्यक्ष प्राध्यापक डाक्टर भोला थापाले बताए । थापाका अनुसार विद्यार्थी, शिक्षक, विद्यालय परिवार र अभिभावकबीच स्मरणीय वातावरण सिर्जना गर्न र विद्यार्थीको विश्व विद्यालयको शिक्षामा उत्प्रेरणा जगाउने उद्देश्यले दीक्षान्त समारोह राखिएको हो ।


समारोहका प्रमुख वक्ता अर्थोपेडिक सर्जन डाक्टर चक्रराज पाण्डेले अध्ययन गर्ने विषयलाई करियरको रूपमा विश्लेषण गरी अगाडि बढ्दा नेपाली विद्यार्थीहरूले जहाँ गए पनि सफलता हासिल गर्न सक्ने बताए । पाण्डेले आफू कुनै समय कक्षामा असफल भएपनि जीवनको उदेश्यमा सफल भएको उदाहरण दिँदै विद्यार्थीहरुलाई उत्प्रेरणा दिका थिए ।


मुनाफा वितरण नगर्ने सामाजिक संस्था युलेन्स फाउडेसन अन्तर्गत सञ्चालित विद्यालयमा १४ सय बढी विद्यार्थी अध्ययनरत छन् ।