काठमाडौँ/१९ जेठ – त्रिभुवन विश्वविद्यालय स्नातक तह प्रथम सत्रको सेमेष्टर प्रणाली अन्तर्गत भर्नाका लागि असार पहिलो हप्तादेखि आवेदन खुला गर्ने भएको छ । शैक्षिक वर्ष २०८३ /०८४ का लागि मानविकी तथा सामाजिकशास्त्र संकाय, व्यवस्थापन संकाय, शिक्षाशास्त्र संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा आवेदन खुला गर्दैछ ।
नयाँ विद्यार्थीले भर्ना हुनका लागि असार पहिलो हप्तादेखि साउन मसान्तसम्म आवेदन फाराम बुझाउनु पर्ने छ ।
प्रवेश परीक्षा तथा भर्ना सम्बन्धी अन्य विस्तृत जानकारी सम्बन्धित डीनको कार्यालयले निर्धारण गरे अनुसार हुनेछ र विद्यार्थीले प्रवेश चाहेको प्रत्येक संकाय अध्ययन संस्थान र विषय अनुसार सम्बन्धित संकाय ÷ अध्ययन संस्थानमा बेग्ला बेग्लै आवेदन फाराम बुझाउनु पर्नेछ ।
साथै विश्वविद्यालयको तालिका अनुसार भर्ना भएका विद्यार्थीको भदौँ अन्तिम हप्तादेखी कक्षा सञ्चालन हुने, अन्तिम परीक्षा २०८३ फागुन अन्तिम हप्ता हुने र नतिजा प्रकाशन २०८४ जेठ महिनाभित्र गरिने जनाएको छ ।



