शिक्षामा बजेट : २१८ अर्ब ३० करोडको गुणस्तरीय शिक्षा

काठमाडौं/१५ जेठ– सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि शिक्षामा २ सय १८ अर्व ३० करोड रकम विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसदमा बजेट भाषण गर्दे सो घोषणा गरेका हुन ।


हेर्नुहोस बजेटमा शिक्षा
(क) मुलुकभरका सामुदायिक विद्यालयहरुको पूर्वाधार आवश्यकताको म्यापिङ्ग गर्नका लागि रू. १ अर्ब विनियोजन गरेको छु ।
(ख) सुदुरपश्चिम प्रदेशको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा शैक्षिक सत्र २०८३/८४ देखि एमबिबिएस लगायत चिकित्सा शिक्षाका चारवटा विधामा कार्यक्रम सञ्चालन गर्नेछौं ।
(ग) विद्यालयतहदेखि उच्च शिक्षासम्मका लक्षित विद्यार्थी छात्रवृत्तिका लागि रू. ८ अर्ब ६० करोड विनियोजन गरेको छु ।
(घ) सङ्गीत, कला तथा साहित्य सम्बन्धी अध्ययनलाई देशैभर प्रवद्र्धन गर्नेछौं । राजगुठी लगतमा दर्ता रहेको त्रिपुरेश्वर महादेव मन्दिर परिसरमा गुठी रिसर्च इन्स्टीच्यूट एवम् एथ्नोम्यूजिकोलोजी सेन्टर स्थापनाका लागि सहयोग गर्नेछौं ।
(ङ) अन्तर्राष्ट्रिय स्तरका उच्च श्रेणीमा रहेका विश्वविद्यालयलाई नेपालमा क्याम्पस सञ्चालन गर्न नीतिगत व्यवस्था र प्रोत्साहन गर्नेछौं । स्वदेशी र विदेशी प्राध्यापकहरूबीच प्राज्ञिक आदानप्रदान कार्यक्रम सुरु गर्नेछौं ।
(च) विश्वविद्यालयलाई शैक्षिक, प्रशासनिक तथा वित्तीय स्वायत्तता प्रदान गरी लागत साझेदारी मोडेलमा सञ्चालन गर्न कानुनी प्रबन्ध मिलाउनेछौं ।
(छ) वैदेशिक रोजगारीमा रहेका युवालाई खुला विश्वविद्यालय अन्तर्गत अध्ययनको अवसर प्रदान गर्नेछौं ।
(ज) विभिन्न प्रदेशका सामुदायिक विद्यालयमा कक्षा ५ देखि कक्षा ८ सम्म अध्ययनरत विद्यार्थी तथा शिक्षक विद्यार्थी आदानप्रदान कार्यक्रम सञ्चालन गर्नेछौं ।
(झ) मानव विकास सूचकाङ्कमा पछाडि परेका समुदायको आधारभूत शिक्षामा पहुँच सुनिश्चित गर्न आवासीय विद्यालय सञ्चालन गर्नेछौँ। यस कार्यक्रम चितवन जिल्लाको चेपाङ समुदायबाट सुरु गर्नेछौं ।
शिक्षा क्षेत्रका लागि रू. २१८ अर्ब ३० करोड विनियोजन गरेको छु ।