काठमाडौँ /१५ जेठ – उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ मा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या ६ लाख ७२ हजार ४ सय ८९ रहेकोमा आर्थिक वर्ष २०८१/८२ मा १०.९ प्रतिशतले वृद्धि भई ७ लाख ४५ हजार ७ सय ७० पुगेको देखिएको छ ।
उच्च शिक्षा अध्ययनरत कुल विद्यार्थीमध्ये व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीको सङ्ख्या सबैभन्दा बढी ५०.५ प्रतिशत रहेको छ भने कृषिमा अध्ययनरत विद्यार्थीको सङ्ख्या सबैभन्दा कम ०.१५ प्रतिशत रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । व्यवस्थापन, शिक्षाशास्त्र र मानविकी तथा समाजशास्त्र सङ्कायमा अध्ययनरत विद्यार्थी करिब ८०.० प्रतिशत रहेका छन् । सङ्घीय/प्रादेशिक विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान र विदेशी विश्वविद्यालयका सम्बन्धनमा नेपालमा सञ्चालित क्याम्पसमा अध्ययनरत विद्यार्थीमध्ये त्रिभुवन विश्वविद्यालयअन्तर्गत आङ्गिकमा ४७.९ प्रतिशत र सम्बन्धन प्राप्तमा २७.४ प्रतिशत गरी जम्मा ७५.३ प्रतिशत र अन्य विश्वविद्यालय तथा शैक्षिक संस्थामा २४.१ प्रतिशत विद्यार्थी अध्ययनरत छन् ।
सरकारी लगानीको हिसाबले त्रिभुवन विश्वविद्यालयमा ६७.५ प्रतिशत र अन्य विश्वविद्यालय ÷ कार्यक्रममा ३२.५ प्रतिशत सरकारी लगानी रहेको छ । विश्वविद्यालय अनुदान आयोगबाट २०८२ फागुनसम्म गुणस्तर सुनिश्चितता तथा प्रत्ययन प्रमाणपत्र प्राप्त गर्ने उच्च शिक्षाका शैक्षिक संस्थाको सङ्ख्या १४५ पुगेको छ । २०८१ फागुनसम्म यस्ता शैक्षिक संस्थाको सङ्ख्या ११४ रहेको थियो ।
नेपालमा २०८२ फागुनसम्म १५ केन्द्रीय र ६ प्रादेशिक विश्वविद्यालय गरी जम्मा २१ विश्वविद्यालयका साथै संघ अन्तर्गत ६ र प्रदेश अन्तर्गत २ स्वास्थ्य विज्ञान प्रतिष्ठान गरी ८ स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका छन् । सङ्घीय अन्तर्गत १२ केन्द्रीय विश्वविद्यालय र प्रदेश अन्तर्गत ६ विश्वविद्यालय पूर्ण रूपमा सञ्चालनमा रहेका छन् भने ३ केन्द्रीय विश्वविद्यालय हालसम्म सञ्चालनमा आउन सकेका छैनन् । २०८२ फागुनसम्म वैदेशिक सम्बन्धन प्राप्त क्याम्पसको सङ्ख्या ५७ पुगेको छ ।



