झापा/१३ जेठ – झापाको गौरादहमा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बुधवार साँझ करिब ५ बजे गौरादह नगरपालिका–७ फकिरढिप स्थित सर्जक एकता बोर्डिङ स्कुलको को १ ख ६९४० नम्बरको बसले सोही विद्यालयमा कक्षा एलकेजिमा अध्ययनरत स्थानीय खड्ग चिमोरियाका ४ वर्षीय छोरा यज्ञराज चिमोरियालाई घरमा ओराल्ने क्रममा किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि बस र चालक गौरादह–५ का ५७ वर्षीय लालबहादुर बस्नेतलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरी साँझ ७ बजे शव पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



