राहत कोटाका शिक्षकलाई स्थायी दरबन्दीमा रूपान्तरण गर्न पुनको आग्रह

काठमाडौँ/३१ वैशाख – प्रतिनिधि सभाका स्वतन्त्र सदस्य महावीर पुनले राहत कोटाका शिक्षकलाई स्थायी दरबन्दीमा रूपान्तरण गर्न सरकारसँग आग्रह गरेका छन् । माध्यमिक तहमा शिक्षकको अभाव रहेको उल्लेख गर्दै ४५ हजार राहत शिक्षक कोटालाई स्थायी कोटामा रुपान्तरण गर्न आग्रह गरेका हुन् ।


बिहीबार सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद पुनले भने ‘शिक्षामा सुधार गर्नको लागि माध्यमिक शिक्षामा २०५६ सालदेखि शिक्षकको दरबन्दी बढाइएको छैन । राहत कोटा भनेर करिब ४५ हजार शिक्षकहरू छन् । त्यसलाई कोटामै बदलियोस् । राहत कोटामा बसेको शिक्षकले राम्ररी पढाउँदै पढाउँदैनन्, किनभने उसले अर्को जागिर खोजिरहेको हुन्छ, बाँच्नको लागि अर्को उपाय खोजिरहेको हुन्छ ।’