सेवा प्रवाहलाई नागरिकमैत्री बनाउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौँ/२४ वैशाख – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले सेवा प्रवाहलाई नागरिकमैत्री बनाउन मातहतका निकायलाई निर्देशन दिएका छन् । बुधबार मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले सो निर्देशन दिएको हो ।


सरकारका प्रवक्तासमेत रहेका मन्त्री पोखरेलले सरकारले नीतिगत तथा संरचनागत सुधारमार्फत सुशासन प्रवद्र्धन गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा काम गरिरहेको बताए । उनले सबै निकायलाई वार्षिक योजना तथा कार्यक्रम लक्ष्यअनुसार सम्पन्न गरी विकास र आर्थिक समृद्धिको लक्ष्यमा योगदान पुर्याउन आग्रह गरे ।


बैठकमा प्रस्तुत विवरणअनुसार चालु आर्थिक वर्षका नौ महिनामा ६४ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ भने भौतिक प्रगति ७० प्रतिशतभन्दा माथि पुगेको छ । समीक्षा अवधिमा सञ्चालनमा रहेका कार्यक्रमको कार्यान्वयन अवस्था सन्तोषजनक रहेको र निर्धारित समयभित्र लक्ष्य हासिल हुने निष्कर्ष निकालिएको छ ।


मन्त्रालयका योजना तथा अनुगमन महाशाखा प्रमुख एवं सहसचिव शिवकुमार सापकोटाले प्रगति विवरण प्रस्तुत गरेका थिए भने विभिन्न निकायका प्रमुखले आ–आफ्नो कार्यालयको प्रगति विवरण प्रस्तुत गरेका थिए ।


तीन महिनामा लक्षित कार्यक्रमको कार्यान्वयन अवस्था सन्तोषजनक रहेको र आर्थिक वर्षभित्र लक्षित कार्यक्रम पूरा हुने क्रममा रहेको त्यस अवसरमा जानकारी दिइएको थियो ।


बैठकमा राष्ट्रिय योजना आयोगका प्रतिनिधि, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारी तथा मन्त्रालय मातहत विभिन्न निकायका प्रमुखको उपस्थिति रहेको थियो ।