काठमाडौँ /२२ वैशाख – अस्ट्रेलियामा नेपाली विद्यार्थी भिसा स्वीकृति दरमा भारी गिरावट आएको छ । अस्ट्रेलियाको डिपार्टमेन्ट अफ होम अफेअर्सले हालै सार्वजनिक गरेको पछिल्लो चार महिनाको तथ्यांकका आधारमा गिरावट आएको देखिएको हो ।
चार महिनामा डिसेम्बर, जनवरी, फेब्रुअरी र मार्च महिनामा नेपालबाट हालिएको हायर एजुकेशनमा जम्मा ३३ प्रतिशत मात्रै भिसा लागेको छ । ६० प्रतिशत भन्दा बढी चाहिँ रिफ्युज भएको छ । त्यसैगरी भेट कलेजहरूको अवस्थामा जम्मा ७.९% भेटका विद्यार्थीहरूको मात्रै नेपालबाट भिसा लागेको छ ।
गत वर्षको यही चार महिनाको तथ्यांक हेर्दा यो समयमा ९१.९% हायर एजुकेशनमा नेपालबाट भिजा लागेको थियो भने भेटमा २७.५% विद्यार्थीको भिसा लागेको थियो । तथ्यांकका आधारमा दक्षिण एसियाली राष्ट्रहरूमा नेपाली विद्यार्थीले सबैभन्दा कम भिसा पाएका छन् । यति धेरै विद्यार्थी भिसामा गिरावट आउनुको कारण फाइनान्सियल डकुमेन्ट र जेन्युइननेस नै प्रमुख कारण रहेको देखिन्छ । यीनै कारणले राम्रा पढ्ने पोटेन्सियल भएका विद्यार्थीहरूको पनि भिसा रिफ्युज भएको छ ।
दक्षिण एसियाली राष्ट्रहरूमा अफगानिस्तानलाई छोडिदिने हो भने सबैभन्दा धेरै भिसा लाग्नेमा मालदिभ्स अगाडि छ । हायर एजुकेशनमा ९६.६%, भेटमा ६६.७% भिसा लागेको छ । त्यसैगरी भुटानबाट हायर एजुकेशनमा ७४.६% र श्रीलंकाबाट ६३.९%को भिसा लागेको छ । पाकिस्तानको ६०.९%, इन्डियाको ६०.८% र बङ्गलादेशको ५७.६%को भिसा लागेको छ ।
नेपालबाट ३३ प्रतिशत भिसा लाग्नुको अर्को कारण घरजग्गा भाडामा दिएको आम्दानी देखाएर भिसा लज गर्दा डिपार्टमेन्टले मिहिन तरिकाले हेरिरहेकोले भिसामा गिरावट आएको विज्ञहरूको भनाई छ । पछिल्लो समय अस्ट्रेलियामा आप्रवासीहरूको सङ्ख्या घटाउनुपर्छ भन्ने माग उठिरहेको र आप्रवासीको सङ्ख्या बढाउनको लागि अन्तर्राष्ट्रिय विद्यार्थीहरूको पनि हात हुन सक्ने भन्ने विश्लेषण गरिएको छ । यद्यपि सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्ख्याको कोटा भने घटाएको छैन । तर सही विद्यार्थीहरू आओस्, जेन्युइन विद्यार्थीहरू आओस् भनेर सरकारले विद्यार्थी भिसामा भने कडाइ गरिरहेको छ ।
विभिन्न उद्देश्य राखेर विद्यार्थीहरू अस्ट्रेलिया जाने, नपढ्ने र भिसा चेन्ज गर्दै बसिरहनेको सङ्ख्या एकदमै ठूलो भएको कारणले गर्दा अस्ट्रेलिया सरकारले विभिन्न देशबाट विद्यार्थी ल्याउँदाखेरि नै कडाइ गर्ने र जेन्युइन विद्यार्थी ल्याउने रणनीति लिएको हो ।



