काठमाडौँ/२२ वैशाख – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावलीलाई क्याबिनेट पठाउने तयारी गरेको छ । लामो समयदेखि नियमावली बनाएर तयार गरिएपनि विभिन्न कारणले अगाडी बढ्न सकेको थिएन ।
केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ जारी भएपछि शिक्षा मन्त्रालयलाई शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली जारी गर्ने बाटो खुलेको मन्त्रालयले जनाएको छ ।
जारी अध्यादेश मार्फत शिक्षा ऐन समेत संशोधन गरिएको छ । संशोधन गरिएको ऐनमा शैक्षिक परामर्श सेवा र विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी विदेशी शैक्षिक कार्यक्रम वा शिक्षण कोर्स सञ्चालन गर्न शैक्षिक कार्यक्रमका लागि शिक्षा ऐनको दफा १९ को उपदफा (२) को खण्ड (र) पछिको खण्ड (र१) थप गरिएको छ ।
दफा १९ को नियम बनाउने अधिकार अन्तर्गत उपदफा (१) मा ऐनको कार्यान्वयन गर्न नेपाल सरकारले नियम बनाउने अधिकारको व्यवस्था छ ।
मन्त्रालयको उच्च स्रोतका अनुसार शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन बारे नियमावली छिटै क्याबिनेट लैजाने तयारी थालिएको जनाएको छ । स्रोतले भन्यो “नियमावली तयार छ । मन्त्रीसँगको छलफल सकेर छिटै क्याबिनेट लैजाने तयारी भईरहेको छ । अब केही दिनमै क्याबिनेट जान्छ । छिट्टै नियमावली आउँछ ।”
स्रोतले शैक्षिक परामर्श संस्थाहरूलाई अनिवार्य रूपमा धरौटीको व्यवस्था गरिएको र शाखाको हकमा पनि समान धरौटी राखिएको खबर एजुकेशनलाई जनाएको छ । साथै विद्यार्थीको इन्सुरेन्सलाई समेत अनिवार्य गरिएको, प्रदेशबाट दर्ता नहुने केन्द्रमै रहने व्यवस्था गरिएको बतायो ।



