विद्यालयको जग्गामा बस्दै आएका बैगुन्धुरावासी बस्ती उजाडीने डरमा दिनरात कटाउदै

झापा/१९ वैशाख – यतिबेला गौरादह नगरपालिका वडा न ९ स्थित बैगुन्धुरा बजार आसपासका स्थानीयहरू बस्ती उजाडीने डरमा दिनरात कटाउदै आएका बताएका छन् ।


बैगुन्धुरा बजार नजिकै रहेको अमर माध्यमिक विद्यालयको नाममा रहेको करिब ८ बिगाहा जमिनमा पुस्तौँ देखि बस्दै आएका स्थानीयहरूमा हाल त्रासदीको वातावरण छाएको हो ।


तात्कालिक समयमा प्रति भिटा रु ५० का दरले भिटौरीको रूपमा विद्यालयलाई शुल्क बुझाई स्थायी रूपमा बसोबास गर्दै आएका स्थानीयहरू हाल आएर बालेन सरकारले सर्वसाधारण द्वारा अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने त्रासमा चिन्तित रहेको अमर माध्यमिक विद्यालयका तात्कालिक सञ्चालक समिति अध्यक्ष राम बहादुर पौडेल ( पटवारी) ले जानकारी दिए ।


विद्यालयले आफ्नो नाममा दर्ता कायम भएको जमिनको खोजी नगर्दा फिल्ड बुकमा श्रेयस्ता कायम रहेको सार्वजनिक जग्गा विभिन्न समयमा व्यक्तिहरूले आफ्नो नाममा दर्ता गरेको समेत खुलेको छ ।


२०२५ सालमा स्थापना भइ अमर प्राविको नामबाट सञ्चालित विद्यालयको नाममा बि.सं. २०२१ सालको फिल्ड बुकमा श्रेयस्ता कायम रहेपनि सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गराएको स्थानीयको भनाई छ ।


बि.सं. २०२६ सालमा महाभारा निवासी सत्य राजवंशी र चमक राजवंशीको नाममा रहेको २९ बिगाहा १० धुर जग्गा विद्यालयले धितो लिलाम सखार गर्दा विद्यालयको नाममा रहेको १२ कठ्ठा जग्गा पनि सुनियोजित ढंगले सोही जग्गाको साथमा लिलामी प्रक्रियामा राखी लिलाम गराई विद्यालयकै तत्कालीन प्रधानाध्यापक यमनाथ ढुङ्गानाले आफ्नो नाममा न्यून मूल्यमा खरिद गरेको समेत पाइएको छ ।


त्यस पश्चात् महाभारा निवासी सम्बन्धित जग्गा धनी राजवंशीले आफ्नो जग्गा लिलाम फिर्ता गराउन मुद्दा गरेकोले अन्ततः बि.स. २०२९ सालमा मुद्दाको किनारा फैसलाद्वारा साविक जग्गा धनीको जग्गा लिलाम फिर्ता भएको थियो । तर, सोही समयमा विद्यालयको नाममा रहेको लिलाम गरिएको जग्गा भने फिर्ता नगरी बि.सं. २०३२ सालमा तत्कालीन प्रअ यमनाथ ढुङ्गानाले १२ कठ्ठा जग्गा चक्रप्रसाद पोखरेललाई बिक्री गरेको स्थानीयहरू बताउछन ।


त्यसैगरी विद्यालयकै नाममा पुरानो फिल्ड बुकमा श्रेयस्ता रहेको २ बिगाहा १० कठ्ठा जग्गा मुद्दा फैसला गराइ इन्द्रबहादुर अधिकारीले आफ्नो नाममा दर्ता गराइसकेका छन ।


हाल विद्यालयको नाममा रहेको ११ बिगाहा १३ कठ्ठा ६ धुर जग्गामध्ये अधिकांश जग्गामा त्यहाँका स्थानीयहरूले अस्थायी तथा स्थायी संरचना तयार गरी बसोबास गर्दै आएका छन् । पछिल्लो समयमा विद्यालयको स्वामित्वमा रहेको जग्गामा हाल एउटा सामाजिक संस्था ॐ शान्तिको पक्की भवन निर्माण सम्पन्न भै सञ्चालित छ ।


त्यसैगरी विद्यालयको स्वामित्वमा रहेका जग्गामा स्थानीय व्यक्तिहरूले तात्कालिक समयमा विद्यालयलाई शुल्क बुझाई पुस्तौँ देखि बसोबास गर्दै आएपनि जग्गाको आवश्यक कागजात ( लालपुर्जा ) प्राप्त गर्न नसक्दा करिब एक दर्जन जति साना–ठूला घर बनाई वर्षौदेखि स्थायी रूपमा बसोबास गर्दै आएका स्थानीयहरू हाल आएर राज्यले आफूहरूलाई उक्त स्थानबाट विस्थापित गराउने डरले चिन्तित देखिन्छन् ।