काठमाडौँ /१६ वैशाख – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावलीलाई अगाडी बढाउने भएको छ । मन्त्रालयले यस भन्दा अगाडी अर्थ मन्त्रालय र कानुन मन्त्रालयमा पठाएको नियमावली पटक पटक फर्किएर आएपछि पुन यसलाई अगाडी बढाउने भएको हो ।
शैक्षिक परामर्श क्षेत्रलाई शिक्षामन्त्रालयले नै बेवास्ता गर्दा लामो समयदेखि नियमावली आउन सकेको छैन भने मन्त्रालय र स्वार्थ समूहले नै यसलाई पटक पटक रोक्दै आएका छन् ।
पछिल्लो समय शिक्षामन्त्री महावीर पुनले नियमावली ल्याउन रायका लागि अर्थ मन्त्रालय पठाएका थिए । तर शिक्षा मन्त्रालयका कर्मचारीलेनै नियतबस दुईवटा नियमावली अर्थमा पठाएपछि एकिन गर्न मन्त्रालयनै फिर्ता गरिएको थियो । त्यसपछि छोटो समय र निर्वाचन आचारसंहिता लागु भएका कारण नियमावली आउन सकेन ।
अहिले उक्त नियमावली शिक्षा मन्त्रालयमा छलफलकै क्रममा रहेको स्रोतले जनाएको छ । एक दुई दिनमा मन्त्री सस्मित पोखरेलसहित छलफल गरेर बनिरहेकै नियमावलीमा केही बुँदा थप गर्ने तयारी थालिएको स्रोतले बतायो ।
स्रोतले भन्यो शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली छलफलकै क्रममा छ । एक दुई दिनमा मन्त्रीसहित छलफल गरेर अहिलेकै नियमावलीमा केही बुँदा थपगरेर जाने तयारी भईरहेको छ । मन्त्रीसँगको छलफलपछि निर्णय हुन्छ ।



