उच्च शिक्षामा सरकारको नीति प्रस्ट नहुँदा अन्योलता देखिएको विज्ञहरूको भनाई

काठमाडौं/५ जेठ – नेपालको उच्च शिक्षा नीति राम्रो नहुँदा विश्वविद्यालय शिक्षामा अन्योलता देखिएको विज्ञहरूले बाएका छन् । नेपाल हायर एड्युकेशन फाउण्डेशनले आयोजना गरेको ‘डिस्कस्सन अन चेञ्जिङ्ग प्याराडाइम्स ईन हायर एड्युकेशनः च्यालेञ्जेज एण्ड अपरचुनिटिज अफ नेपाल’ छलफल कार्यक्रममा बोल्दै सरकारको नीति नै शिक्षामा प्रस्ट नहुँदा समस्या आएको बताएका हुन् ।


त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति तथा फाउण्डेशनका अध्यक्ष प्रा.डा. तीर्थराज खनियाँले पहिलाको शिक्षा मानवता र विज्ञानका लागि रहेकोमा अहिले प्रविधिको विकाससँगै विभिन्न पुस्तामा वर्गीकरण भइसकेकोले त्रिविलगायत नेपालको उच्च शिक्षाका चुनौतीलाई सामना गर्दै शिक्षामा पर्ने महँगीलाई धान्न सक्ने पाठ्यक्रम निर्माण गर्नुपर्ने बेला आएको बताए । खनियाँले सरकारले विश्वविद्यालय छाता ऐन तत्काल ल्याउनुपर्नेमा जोड् दिए ।


सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका निवर्तमान उपकुलपति प्रा.डा. अम्मराज जोशीले शिक्षाको मूलमर्म मानव मस्तिष्कलाई तालिम दिनु रहेको भन्दै पहिला प्राध्यापक इमान्दार हुनुपर्ने बताए । उनले सरकारको शिक्षा नीति र उच्च शिक्षाको भीजन प्रस्ट नभएको बताउँदै मानवशास्त्रको जनशक्तिले आयुर्वेदको नेतृत्व गरिरहेको जस्ता विकृति रहेको बताए ।


त्यस्तै, डा. मोहनप्रसाद तिमल्सिनाले विश्वविद्यालयमा पाठ्यक्रम नेपालको आवश्यकता अनुसार बन्नुपर्ने बताउँदै शिक्षानीति ठोस नरहेको र नयाँ विश्वविद्यालय केवल जागिर खाने अड्डा साबित भइरहेको दबी गरे । युनेस्कोको नेपालका प्रमुख ध्रुवराज रेग्मीले नेपालको उच्च शिक्षामा नीतिको अभाव रहेको बताउँदै नयाँ विश्वविद्यालय हचुवाका भरमा खोलिएको विचार व्यक्त गरे । पोखरा विश्वविद्यालयका पूर्व रजिस्ट्रार दीपक भण्डारीले अहिले प्रतिदिन पाँच सय विद्यार्थी विदेशिनुमा प्राध्यापक बढी जिम्मेवार रहेको भन्दै विद्यार्थीको परीक्षा मूल्याङ्कन तीन घण्टाको जाँचले न्यायपूर्ण नभएको बताए ।


अतिरिक्त प्रहरी महानिरीक्षक राजेश श्रेष्ठले विद्यार्थी विदेश पलायनमा विभिन्न देशसँग नेपालको श्रम सम्झौता हुनु तर नेपालमा बौद्ध विश्वविद्यालय जस्तो अरू के कस्ता आधारभूत विश्वविद्यालय चाहिने हो, त्यता राज्यले ध्यान दिन आवश्यक रहेको बताए । साथै सहायक रथी रामचन्द्र खत्रीले नेपालमा विद्यार्थी, पाठ्यक्रम, प्राध्यापक, तालिमलगायत पूर्वाधार र योजनामा स्तरोन्नत्ती हुनुपर्ने धारणा राखे ।


त्रिवि योजना निर्देशनालयका पूर्व निर्देशक डा. ऋदिश पोखरेलले विदेशमा मात्र पाठ्यक्रम राम्रो छ भन्ने भाष्य निर्माण भइरहेको अवस्थामा नेपालको उच्च शिक्षा अनुसन्धानमा आधारित नभई घोकन्ते भएको बताए । नेपालका पूर्व सचिव दामोदर रेग्मीले सीपयुक्त बाजारले मागेको कोर्स उच्च शिक्षामा विद्यार्थीलाई दिन आवश्यक रहेको बताए । अमृत साइन्स क्याम्पसका प्राध्यापक नारायण चापागाईँले नेपालको ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयलाई सुधार गर्न सके विद्यार्थीमा सकारात्मक प्रभावपर्ने बताउँदै परीक्षा, कोर्स मोडेलमा लचक हुनुपर्ने धारणा व्यक्त गरे ।


त्यस्तै, नेत्रप्रसाद न्यौपानेले नेपालको उच्च शिक्षा रोजगारमूलक, विदेशी विद्यार्थीलाईपनि आकर्षण गर्ने, जीपिए बढीभन्दा सीप सिकाउने पाठ्यक्रम निर्माण हुनुपर्नेमा जोड दिए । हरिसिंह केसीले नेपालका विद्यार्थी विदेश अध्ययनमा गईरहेको अवस्थामा विदेशी विद्यार्थी नेपाल आएर पढ्नका लागी सरकारले आउन सहज बनाइदिनु पर्नेमा जोड् दिए ।

शंकरदेव क्याम्पसका निवर्तमान क्याम्पस प्रमुख कृष्णप्रसाद आचार्यले नेपालको वार्षिक जन्मदर घटेकोले पनि विद्यार्थी सङ्ख्या घटिरहेको बताउँदै शिक्षणविधि ध्यान दिनुपर्ने बताए । साथै परीक्षामा विद्यार्थीले टेक्नोलोजिको दुरुपयोग गर्दा शैक्षिक गुणस्तर खस्केकोमा चिन्ता व्यक्त गरे ।


साउथ वेस्टर्न कलेजका क्याम्पस प्रमुख डा. राजेन्द्र केसीले त्रिविको प्रमाणपत्रलाई अन्य देशले महत्व नदिएको बताउँदै अब एआई जस्ता प्रविधिसँग शिक्षालाई जोड्नुपर्नेमा जोडदिए । साथै नेपालका सबै विश्वविद्यालय एकै खालका भएको र त्यसलाई आवश्यकता अनुसार विशिष्टीकृत विश्वविद्यालय बनाउनुपर्ने बताए ।