सामुदायिक विद्यालयका २ हजार ५ सय २५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने

काठमाडौँ /१९ साउन – प्राज्ञिक विद्यार्थी परिषद्ले १६ जिल्लाका २ हजार ५ सय २५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ । सामुदायिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू वितरण गर्ने जानकारी दिएको हो ।


विद्यार्थीहरूको आवश्यकतालाई महसुस गरी इलाम, झापा, धनुषा, चितवन, काठमाडौँ, रसुवा, रामेछाप, पर्वत, मुस्ताङ, पाल्पा, गुल्मी, प्युठान, रुकुम, सुर्खेत, बैतडी र कञ्चनपुरमा कक्षा ११ र १२ मा अध्ययनरत २ हजार ५ सय २५ जना विद्यार्थीहरूलाई झोला, कपी, कलम, जमेक्ट्री बक्स, प्राज्ञिक अंगेजी बोलचाल पुस्तक, नेपाली वृहत् शब्दकोश र क्याप लगायतका शैक्षिक सामग्री वितरण गरिने प्राज्ञिक विद्यार्थी परिषद्की सचिव जानकी आचार्यले बताइन् ।


भारत सरकारको र भारतीय जनताहरूको सहयोगमा विद्यार्थी परिषद्, सेवा र विकासका लागि युवाको समन्वयमा विद्यार्थी परिषद्ले देशको १६ वटा जिल्लाका विद्यार्थीहरूलाई ५१ लाख बराबरको उक्त शैक्षिक सामग्री वितरण गर्न गइरहेको परिषद्का राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनीले बताए ।


विद्यार्थी परिषद्का केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख छितराज न्यौपानले विद्यार्थीलाई प्रदान गरिने शैक्षिक सामग्री अन्तर्गत कपीमा व्यक्तिको राष्ट्रिय चरित्र निर्माणका लागि आवश्यक एक संकल्प राष्ट्रका लागि राखिएको जानकारी दिए ।


नेपालको शैक्षिक विकासमा विभिन्न प्रकारका छात्रवृत्ति प्रदान, क्याम्पस, विद्यालय तथा पुस्तकालयका शैक्षिक तथा प्रशासनिक भवन निर्माण, विद्यालय तथा क्याम्पसका लागि बस प्रदान जस्ता महत्वपूर्ण सहयोग गर्दै आएको मित्रराष्ट्र भारतले प्राज्ञिक विद्यार्थी परिषद् नेपालको आग्रहलाई स्वीकार गरी भारतीय जनता र भारत सरकारको सहयोगबाट प्राप्त भएको न्यौपानेले बताए ।


साथै विद्यार्थीहरूको वैचारिक एवम् सामाजिक विकास गर्ने उदेश्यले देशभरका क्याम्पसहरूमा जीवनोपयोगी सीपमा आधारित व्यक्तित्व विकास तालिम, छात्राहरूका लागि मिसन साहसी कार्यक्रम, निःशुल्क कम्प्युटर तालिम, कोचिङ् कक्षा, बालसँस्कार कार्यक्रम, सरसफाइ अभियान, वृक्षारोपण, प्रतिभा सम्मान, रक्तदान शिविर जस्ता रचनात्मक एवम् सिर्जनात्मक क्रियाकलाप प्राज्ञिक विद्यार्थी परिषद् नेपालले गर्दै आएको छ ।