काठमाडौं /१२ असार-भाषा शिक्षण भाषिक सीपहरूको शिक्षण हो । सुनाइ, बोलाइ, पढाइ र लेखाइ भाषाका आधारभूत सीपहरू हुन् । तीमध्ये सुनाइ र पढाइ आदानात्मक सीप हुन् भने बोलाइ र लेखाइ अभिव्यक्तिगत अथवा प्रदानात्मक सीप हुन् । भाषामा मौखिक सीप कमजोर भएमा लेखाइ सीप पनि कमजोर हुन्छ । त्यसैगरी सुनाइ सीप कमजोर भएका खण्डमा बोलाइ, पढाइ र लेखाइ तिनै खालका सीपहरू कमजोर हुन पुग्छन् । भाषाका यी चारै ओटा सीपहरू पृथक पृथक भए पनि एउटा सीप कमजोर भएमा अर्कोमा क्षति पुग्न जाने भएका कारण यिनका बीचमा गहिरो सम्बन्ध रहेको छ ।

शिक्षण एउटा सामाजिक प्रक्रिया हो, जसमा सिक्ने र सिकाउनेको पारस्परिक सहभागितामा भाषिक व्यवहार, दक्षता र सीपलिने दिने प्रक्रिया रहेको हुन्छ । भाषा शिक्षण विषय वस्तुको शिक्षण नभएर विषय वस्तु अभिव्यक्त गर्ने कलाको शिक्षण भएकाले शिक्षण प्रकृयामा विषय वस्तु गौण भई अभिव्यक्त गर्ने भाषिक कलाको महत्वपूर्ण स्थान रहन्छ ।
भाषा शिक्षणका लागि कथा विधालाई धेरै उपयोगी मानिन्छ । कथा सर्वाधिक लोकप्रिय र प्रचलित विधा हो । भाषा शिक्षण क्रियाकलापमा कथा विधालाई सामाविष्ट गरी शिक्षण गर्नु प्रभावकारी मानिन्छ । विद्यार्थीहरूको तह र उमेर अनुसार छनोट गरिएका कथाहरू विद्यार्थीहरूका लागि ग्रह्य र रोचक हुन्छन् । विषय वस्तुको सरलता, कथ्य भाषाको प्रयोग, वर्णनात्मक शैली, सरल वाक्य गठन तथा सरल शब्द प्रयोगले कथालाई ग्राह्य बनाएको हुन्छ । त्यसैले कथा पठन बोध विकासका लागि पनि निकै उपयोगी हुने देखिन्छ । बालबालिकाहरूलाई अत्यन्त मनपर्ने विधाका रूपमा कथालाई लिइन्छ । कथाले बालबालिकाहरूमा विशेषतःभाषिक, संवेगात्मक, सामाजिक तथा व्यबहारिक सीपको विकास गर्दछ । त्यसैगरी कथा शिक्षणबाट विद्यार्थीहरूमा सुनाइ क्षेमता, अभिव्यक्तिकला, र तार्किक क्षेमताको विकास गर्न सकिन्छ । यसले बालबालिकामा लामो समयसम्म ध्यान दिएर सुन्न सक्ने बानीको विकास हुनुका साथै एकाग्रता बढ्ने र विषय वस्तुको बोध गर्ने क्षमता पनि राम्रो हुने गर्दछ । विद्यार्थीका पाठ्यपुस्तकमा दिइएका कथालाई नमुना सामग्री मानेर उनीहरूलाई कथा लेखन र प्रस्तुतीकरण गर्न लगाउने गर्नाले विद्यार्थीहरूमा भाषिक क्षमताको अभिबृद्धि हुन्छ ।

भाषा शिक्षणमा कथा विधालाई समावेश गरी शिक्षण गरेमा सिकारूहरूमा पढ्ने बानीको विकास हुन्छ । विभिन्न भाषा तत्वहरूसँग परिचित हुन र तिनको अभ्यासका लागि पनि कथालाई उपयोगी बनाउन सकिन्छ । वाक्य गठन, वाक्य सङ्गति, पदवर्ग आदिको पहिचान र अभ्यासका लागि कथा विशेष उपयोगी हुन्छ । त्यसैगरी कथा सरल र सुबोध हुने भएकाले द्रुत पठन सीप विकासका लागि पनि कथा शिक्षण उपयोगी हुने देखिन्छ ।

त्यसैगरी विभिन्न प्रकृतिका सामाजिक, पौराणिक तथा ऐतिहासिक कथाहरूमा विभिन्न पात्रहरूको प्रयोग गरिएको हुन्छ । कथामा सत् तथा असत् दुबै प्रकारका पात्रहरूको प्रयोग गरी असत् पात्रको हार देखाई सत् पात्रको विजय देखाइएको हुन्छ । बालबालिकाहरूलाई यस प्रकारका कथाहरू शिक्षण गर्दा उनीहरू ती सत् पात्रहरू म आफैँ हुँ भनी परिकल्पना गर्छन् र सोही अनुसार आफूलाई रुपान्तरण गर्दै लान्छन् । यसले गर्दा उनीहरू शीर्जनशील, क्रियाशील हुनुका साथै नैतिकवान र असल बानीको विकास हुँदै जान्छ । यसका लागि भाषा शिक्षकले बालबालिकाको स्तर सुआउँदा कथाहरू छनोट गरी बालबालिकालाई कथामा प्रयुक्त पात्रहरू बनाई तिनको अभिनय गर्न लगाएर शिक्षण गरेमा बालबालिकामा त्यसको सकारात्मक प्रभाव पर्छ । साथै अभिभावकहरूले आफ्ना बाबुनानीहरूलाई राति सुत्नुअघि कथाहरू सुन्ने सुनाउने गरेमा त्यसको प्रभाव सकारात्मक पर्ने देखिन्छ ।

यसले गर्दा बालबालिकाहरूको अवभेतन मनमा प्रभाव पार्ने भएका कारण उनीहरूमा चिन्ता कम हुने, असलबानीको विकास हुने, आत्मविश्वासी बन्ने तथा भाषिक क्षेमतामा पनि अभिवृद्धि हुन्छ । यसका लागि अभिभावकहरूले कथा छनोट गर्दा बाबु नानीको स्तर र उमेरको ख्याल गर्नुपर्ने हुन्छ । विभिन्न अनुसन्धानहरूले कथाले बालबालिकाको सर्वाङ्गीण विकास विशेषत : बौद्धिक क्षमताहरू, परिकल्पना, संवेगहरूको प्रष्फुटन, नियन्त्रण र संन्तुलन गर्दछ भन्ने प्रमाणित गरेअनुसार शिक्षणमा कथाको महत्व दिन प्रतिदिन बढ्दो क्रममा रहेको छ ।
(लेखक हेमा सुवेदी इम्पेरियल वल्र्ड स्कुल, हात्तीगौँडा, काठमाडौँको नेपाली भाषा शिक्षक हुनुहुन्छ ।)





