काठमाडौं/२३ पुष – मंगलबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरर्दै खारेजीमा परेको चक्रवर्ती नर्सिङ कलेजका विद्यार्थीले न्याय नपाए आत्मदाह गर्ने चेतावनी दिएका छन्।खारेजमा परेपछि त्यहाँ भर्ना भएका विद्यार्थीले पढ्न पाएका छैनन।आफूहरूलाई कुनै विकल्प नदिइएको र कलेज खारेजीमा परेपछि भविष्य नै अन्धकारमा परेको पीडित विद्यार्थी संघर्ष समितिकी अध्यक्ष अनुष्का चौलागाईंले बताइन्।
पीडित विद्यार्थी संघर्ष समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ , ‘दुर्गम गाउँबाट नर्स पढ्न आएका हामीमाथि अन्याय हुँदा पनि सुनुवाइ हुँदैन भने हामी सिंहदरबार अगाडि नै आत्मदाह गर्न बाध्य हुनेछौं। हामीसँग अब यसबाहेक कुनै विकल्प बाँकी छैन’, ठिमीस्थित कलेजको सम्बन्धन सिटिइभिटीले खारेज गरेको थियो।
कात्तिकमा कानुनविपरीत भर्ना लिएको निवेदन परेपछि सर्वोच्च अदालतले कलेज खारेज हुने फैसला गरेको थियो।
अदालतले फैसला सुनाएपछि गत वर्ष भर्ना भएका विद्यार्थी मर्कामा परेको गुनासो गर्दै आएका छन्।उनीहरूले कलेज खारेज भएपछि परीक्षा दिन नपाएको बताए। ‘सिटिइभिटीदेखि शिक्षा मन्त्रालयसम्म धाउँदा पनि परीक्षा दिन नपाएपछि दुई वर्ष नर्सिङ अध्ययन गरेको खेर गएको छ,’ चौलागाईंले भनिन्।
पीडित विद्यार्थी संघर्ष समिति चक्रवर्ती नर्सिङ कलेजकी अध्यक्ष प्रेमिका शाहीले सिटिइभिटी र कलेजबीचको विवादको कारण विद्यार्थीहरूले समस्या भोग्नु परेको बताइन्।उनले कात्तिक ४ मा सर्वोच्चले कलेज खारेजीको फैसला गरेपछि शिक्षा मन्त्रालय जाँदा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उल्टै विद्यार्थीको गल्ती देखाएर गैरजिम्मेवारीपूर्ण जवाफ दिएको गुनासो समेत गरिन ।
२०७५ सालमा भर्ना भएका ३० जना छात्राहरूको कलेजले बिचल्लीमा पारेपछि अधिकारका लागि निरन्तर लड्दै आएको शाहीले बताइन्। गत साउन २२ मा सिटिइभिटीलाई अदालतले स्टे अर्डर दिए पनि २०७६ सालमा कलेज खारेज भएको थियो।