शिक्षक सेवा आयोग:खुला विज्ञाापन गरेर मात्रै अध्यापन अनुमतिपत्रको परीक्षा गर्ने योजनामा

काठमाडौं/७ असोज-लामो समय देखि नेतृत्व विहिन रहेको शिक्षक सेवा आयोगले सरकार परिवर्तनसँगै नेतृत्व पायो । नयाँ नेतृत्व आए पछि आयोगमा रोकिएर रहेका काम खुला विज्ञापन, शिक्षकको बढुवा र अध्यापन अनुमति पत्र जस्ता परीक्षा सञ्चलन तुरुन्त हुन्छ भन्ने धेरैको अपेक्षा थियो । तर पदाधिकारी नियुत्ति गरेको ४८ दिन भैसक्दा पनि आयोगले आन्तरीक काम बाहेक परीक्षा सञ्चलनको काम सुचारु गर्न सकेन । आयोगका अनुसार नियमावली संशोधन गर्नुपर्ने र संशोधन नगरी खुला विज्ञापन गर्न नसकिने जनाएको छ ।


नियमावली संशोधन गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लगिए पनि विभागिय मन्त्री नहुँदा संशोधन प्रक्रियामा ढिलाई भएको छ । नियमावली संशोधन अनिवार्य गर्नुपर्ने भएकाले आन्तरिक बढुवा तथा खुला विज्ञापनको परीक्षा प्रभावित भएको छ ।


शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रलयका सचिव रामप्रसाद थपलिया यस विषयमा आफु लागि परेर लागेको बताए । उनले भने “नियमावली संशोधनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाइसकेका छौ । अब विभागिय मन्त्रीले क्याविनेटमा लगेर पास गर्नु पर्छ । हामी जति सक्दो छिटो संशोधन गर्ने प्रक्रियामा छौ ।”


शिक्षा मन्त्रालय प्रधानमन्त्री शेरबहादुर देउवा आफैले समालेका कारण संशोधनमा ढिलाई भएको देखिन्छ । तर शिक्षक सेवा आयोग (११ औं संशोधन) नियमावली २०७८ को मस्यौदाको सम्बन्धमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले रायमाग गरेकोमा आयोगले सो मस्यौदाको बारेमा भदौ ३१ गते मात्र राय पठाएको जनाएको छ ।


नयाँ पदाधिकारी नियुक्तिको ४८ दिनमा आयोगले गरेका काम

  • विगतमा जारी गरिएको अध्यापन अनुमतिपत्रमा देखिएको समस्यहरु समाधान गर्नका लागि आयोग सदस्य संयोजकत्वमा तिन सदस्यीय छानबिन समिति गठन गरी देखिएका समस्याहरुको पहिचान गरी आयोगबाट निर्णय गराई अध्ययन अनुमति पत्र जारी हुने काम भएको र प्रिन्टमा पठाईए सकेको छ ।
  • शिक्षक सेवा आयोगबाट कार्यसम्पादन मुल्याङ्कनको आधारमा बढुवा भएका शिक्षकहरुले बढुवा निर्णय प्रति चित्त नबुझेकाले अदालतमा रिट दिएको र अदालतबाट सो सम्बन्धमा भएको फैसला क्रमश कार्यन्वयन गर्दे गएको ।
  • शिक्षक सेवा आयोग (११ औं संशोधन) नियमावली २०७८ को मस्यौदाको सम्बन्धमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले रायमाग गरेकोमा आयोगले सो मस्यौदाको बारेमा भदौ ३१ गते राय पठाउने काम भएको ।
  • शिक्षा विकास तथा मानव स्रोत केन्द्रबाट निम्न माध्यामिक र माध्यमिक तहको रक्ति शिक्षक विवरण प्राप्त भएको विषयहरु मध्ये पाठ्यक्रम बन्न बाँकी रहेका विषयहरुमा निम्न माध्यामिक तहको तीन विषयको पाठ्यक्रम स्वीकृत गरी आयोगको वेभसाइटमा राखिएको र अन्य विषयको पाठ्यक्रम निर्माण गर्ने क्रममा आयोगले काम गर्दे गरेको छ ।


अध्यापन अनुमतिपत्रको परीक्षा भन्दा पहिला खुला विज्ञापन गर्ने तयारीमा आयोग


शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्रको परीक्षा भन्दा पहीला खुला विज्ञापन गर्ने गरी योजना बनाएको छ । अध्ययन अनुमति पत्रमा ठुलो संख्यामा परीक्षार्थीहरु सामेल हुने भएकाले त्यसलाई व्यावस्थापन गर्न जनशक्ति अभाव भएका कारण खुला विज्ञाापन गरेर मात्र अध्ययन अनुमतिपत्रको परीक्षा गर्ने गरी तयारी थालेको छ ।


विगतको अवस्थालाई हेर्ने हो भने करीब तीनलाख ५६ हजार बढी परीक्षार्थी सहभागि भएका थिए । यस पटक पनि त्याही संख्यामा परीक्षार्थी हुने आकलन आयोगको छ । ४० प्रतिशत वस्तुगत परीक्षा हुने भए पनि यसमा कुनै समस्या नहुने आयोगको भनाई छ । तर ६० प्रतिशतको विषयगत परीक्षामा जनशक्ति व्यावस्थापनको चुनौति टड्कारो रुपमा देखिएको आयोगले बताएको छ ।


उत्तर पुस्तिका परीक्षणमा समय लाग्ने कारणले गर्दा आयोगले चाहेर पनि छिटो नतिजा निकाल्न नसकिने जनाएको छ । नतिजा सार्वजनिक गर्न थोरैमा ६ महिना बढी लाग्ने भएका कारणले अध्यापन अनुमतिपत्रको परीक्षा पहिला सञ्चालन गर्दा खुला विज्ञापनमा प्रभावित हुने भएकाले पहीला खुला विज्ञापन गर्ने गरी योजना बनाएको हो ।