करियर बायोमेडिकल इन्जिनियरिङ्गमा


के हो बायोमेडिकल इन्जिनियरिङ्ग ?


बायोमेडिकल इन्जिनियरिङ्ग एउटा यस्तो बिधा हो जसमा विद्यार्थीले चिकित्सा विज्ञान र इन्जिनियरिङ्ग दुवै विषयको अध्ययन गर्नुपर्ने हुन्छ । यो विषय अन्तर्गत शरीर विज्ञान संगै औषधी–उपचारमा आवश्यक उपकरणको निर्माण तथा मर्मत एवं मेडिकल क्षेत्रमा आवश्यक अन्य सामाग्रीको इन्जिनियरिङ्गबारे अध्ययन गरिन्छ । इन्जिनियरिङ्ग सिद्धान्तहरुको चिकित्सा क्षेत्रमा प्रयोग गरी रोगको पहिचान तथा निदानमा प्राविधिक सहयोग पु¥याएर मानव स्वास्थलाई चुस्त दुरुस्त राख्नु नै यसको प्रमुख उद्देश्य हो ।
विकसित मुलुकमा बायोमेडिकल इन्जिनियरिङ्ग विधा प्रभावकारी अवस्थामा पुगेको हुनाले आम मानिसको स्वास्थ्यमा उल्लेखनीय सुधार पुगेको देखिन्छ । यस विषय अन्तर्गत जैविक चिकित्साजन्य बस्तु, तन्तुसम्बन्धी अध्ययन, अनुसन्धान गर्नेदेखि चिकित्सकीय क्षेत्रमा प्रयोग हुने उपकरण सञ्चालन गर्ने काममा बायोमेडिकल इन्जिनियरको विशेष भूमिका हुन्छ । दुर्घटना वा कुनै पनि कारणबाट मानिसको अंग काम नलाग्ने भएको अवस्थामा कृत्रिम अंग प्रत्यारोपणका लागि एउटा तन्तुबाट अर्को अंग वा नयाँ अंग तयार गर्न पनि यो विषयको अध्ययन गर्न आवश्यक छ । नेपालमा यो विषयको अध्यापन एउटा मात्र कलेज “कलेज अफ बायोमेडिकल इन्जिनियरिङ्ग एण्ड एप्लाइड साइन्सेज्” ले गराउँदै आएको छ ।


नेपालमा यो विषयको स्कोप


नेपालमा यस विषयको निकै ठूलो आवश्यकता रहिआएको छ । अहिले विकसित मुलुकहरुमा हेर्ने हो भने बायोमेडिकल क्षेत्रमा निकै प्रगति भएको पाईन्छ । बायोमेडिकल उपकरणहरुले रोग पत्ता लगाउनुका साथै मानिसको उपचारमा समेत निकै ठूलो महत्व राख्दछ । नेपालका विभिन्न अस्पतालहरुमा अहिले पनि आवश्यक पर्ने उपकरण नभएको वा विग्रिएर थन्किएको हुनाले मानिसहरु विदेश गएर रोगको निदान र उपचार गराउन बाध्य छन् । नेपालबाट उत्पादित बायोमेडिकल इन्जिनियरहरुले नेपालकै लागि उपकरणहरु बनाउन सकेमा राज्यले बाहिरबाट महंगो शुल्कमा उपकरण भित्र्याउनुपर्ने समस्या कम हुनुका साथै नेपाली सर्वसाधारणले बाहिर गएर खर्च गर्नुपर्ने बाध्यता पनि कम हुन जान्छ ।


नेपालमा बायोमेडिकल इन्जिनियरिङ्गको अवस्था


नेपालमा बायोमेडिकल इन्जिनियरिङ्ग पढाइ हुने एक मात्र कलेज हो कलेज अफ बायोमेडिकल इन्जिनियरिङ्ग एण्ड एप्लाइड साइन्सेज् (CBEAS) । २००५ मा स्थापना भएका यो कलेज पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज हो । विद्यार्थीहरुलाई बायोमेडिकलको क्षेत्रको बारेमा ज्ञान तथा सीप प्रदान गरी दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ यो विषय अध्यापन गराउन थालिएको हो । हरेक वर्ष ६० जना विद्यार्थीहरुलाई भर्ना लिईने बायोमेडिकल इन्जिनियरिङ्ग अरु इन्जिनियरिङ्ग जस्तै ४ वर्षे कोर्ष हो । भाइस प्रिन्सिपल शेखर खनालका अनुसार यो विषय पढ्ने विद्यार्थीहरु अहिलेसम्म बेरोजगार बस्नु परेको छैन । सरकारी तथा निजी अस्पताल वाहेक केही बायोमेडिकल उपकरण सम्बन्धित कम्पनीहरुमा कार्यरत छन् भने केही स्वास्थ्य सेवा विभाग, तालिम केन्द्र, शिक्षण संस्थाहरु लगायत अनुसन्धान केन्द्रमा समेत कार्यरत छन् । केही विद्यार्थीहरुले आफ्नै कम्पनी स्थापना गरी अरुलाई रोजगारी दिएका छन् भने केही यसै कलेजमा आवद्घ छन् । बायोमेडिकल इन्जिनियरिङ्ग विषयको अन्तर्राष्ट्रिय मान्यता भएको कारणले विद्यार्थीले नेपालमा मात्र नभएर विदेशमा पनि उत्तिकै अवसर प्राप्त गर्न सक्छन् । यो विषय अध्ययन गरेका ४० देखि ४५ प्रतिशत विद्यार्थी उच्च शिक्षाको लागि बाहिर गएको उनको भनाई छ । अमेरिका, युरोप, चीन, अष्टेलिया, जापान, सिंगापुर, कोरिया तथा भारत लगायत विभिन्न अरु विकसित मुलुकहरुमा विद्यार्थीहरु यो विषयको अध्ययनमा जाने गरेका छन् जसमध्ये धेरैले प्रतिष्ठित छात्रवृत्ती प्राप्त गरी अध्ययन पूरा गरिसकेका छन् । केही विद्यार्थीहरु उच्च अध्ययन पश्चात् विदेशमै अनुसन्धानकर्ता एवं बायोमेडिकल इन्जिनियरकै रुपमा कार्यरत छन् ।


बायोमेडिकल इन्जिनियरिङ्ग अध्ययन स्वदेशमै कि विदेशमा ?


कलेज अफ बायोमेडिकल इन्जिनियरिङ्ग एण्ड एप्लाइड साइन्सेज्ले सैद्घान्तिक मात्र नभई प्रयोगात्मक तथा अनुसन्धानात्मक शिक्षामा जोड दिंदै अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गरिरहेको हुनाले स्नातक तहको लागि स्वदेशमै अध्ययन गर्नु उचित रहेको भाइस प्रिन्सिपल शेखर खनाल बताँउछन् । यस विषयलाई चाहिने धेरैजसो उपकरणहरु कलेजबाट उपलब्ध गराइन्छ भने विद्यार्थीहरुलाई विभिन्न अस्पतालमा लगेर प्रत्यक्ष रुपमा उपकरणको ज्ञान, त्यसको प्रयोग र निर्माणको तरिका सिकाइन्छ । उच्च शिक्षाको लागि भने हालसम्म बाहिरै जानु पर्ने बाध्यता रहिआएको छ । निकट भविष्यमै स्नातकोत्तर तहको पढाई पनि कलेज अफ बायोमेडिकल इन्जिनियरिङ्ग एण्ड एप्लाइड साइन्सेज्मै संचालन गर्नको लागि आवश्यक सम्पूर्ण प्रक्रियाहरु पुरा भैसकेको कुरा भाइस प्रिन्सिपल बताउँछन् । यस कलेजले विश्वविद्यालय अनुदान आयोग (UGC) बाट नेपालको सम्बन्धनप्राप्त कलेजहरुमध्येबाट तथा काठमाण्डौ उपत्यकाको इन्जिनियरिङ्ग कलेजहरुमध्येबाट पहिलो गुणस्तर सुनिश्चितता तथा प्रमाणीकरण (Quality Assurance Accreditation)प्रमाणपत्र प्राप्त गर्न सफल हुनुको साथै शिक्षा मन्त्रालयवाट समेत सर्वोत्कृष्ट कलेज पुरस्कार प्राप्त गर्न सफल भएको कुरा खनाल बताउँदछन् ।
यस कलेजले सन् २००८ तथा २०१४ मा ठूला अन्तर्राष्ट्रिय सम्मेलनहरु भव्यतापूर्वक आयोजना गरिसकेको छ जसमा २० भन्दा बढी राष्ट्रका लब्धप्रतिष्ठित प्राध्यापक, लेखक, वैज्ञानिक, डाक्टर तथा इन्जिनियरहरुको कार्यपत्रहरुको प्रस्तुति रहेको थियो । त्यसैगरी सन् २०१७ मा अन्तर्राष्ट्रिय गोष्ठी पनि आयोजना गरेको थियो । अन्तिम वर्षका विद्यार्थीहरुलाई परियोजना कार्यका लागि कुनै नयाँ बायोमेडिकल यन्त्र वनाउन लगाउने वा यस क्षेत्रमा उपयोग हुने केही नयाँ तथ्य अनुसन्धान गर्न लगाइन्छ । यस्ता अनुसन्धानका तथ्यहरुलाई अन्तर्राष्ट्रिय जर्नलहरुमा समेत प्रकाशित गरिंदै आएको छ ।
कस्ता विद्यार्थीले बायोमेडिकल इन्जिनियरिङ्ग पढ्न पाउने ?
प्लस टू (+2) मा साइन्स विषय अध्ययन गरेका विद्यार्थीले यो विषय अध्ययन गर्न पाउँछन् । विद्यार्थीले सबै विषयमा न्यूनतम “सी” ग्रेड र CGPA 2.0 वा ग्रेडिङ नभएको हकमा कम्तीमा ४५ प्रतिशत अंक प्राप्त गरेको हुनुपर्छ । प्लस टू मा फिजिक्स वा बायोलोजी मध्ये जुन पढेको भएतापनि यो विषय अध्ययन गर्न पाइन्छ ।
कति लाग्छ शुल्क ?
कलेज अफ बायोमेडिकल इन्जिनियरिङ्ग एण्ड एप्लाइड साइन्सेज्मा अध्ययन गर्नको लागि चार वर्षको जम्मा नौ लाख सत्तरी हजार रुपैयाँ लाग्छ । विश्वविद्यालयले प्रवेश परीक्षा उतीर्ण गर्ने विद्यार्थीहरुमध्येबाट १० प्रतिशतलाई (५% जेहेन्दार र ५% आरक्षित) पूर्ण छात्रवृत्तिको व्यवस्था समेत गरेको छ ।