रविन घिमिरे, अर्घाखाँची
अर्घाखाँची/२० असार-लुम्बिनी प्रदेशको अर्घाखाँची जिल्ला पाणिनि गाउँपालिका ७ मा अवस्थित पाणिनि बहुप्राविधिक शिक्षालय प्राविधिक शिक्षाको आकर्षण बन्दै गएको छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को आंगिक क्याम्पसको रुपमा ग्रामीण भेगमा स्थापित यो शिक्षालयमा वन विज्ञान र इन्जिनियरिङका कक्षाहरू सञ्चालन भइरहेका छन् ।
निर्माणाधीन अवस्थामा नै कक्षाहरू सञ्चालन गरेको यस शिक्षालयमा क्यान्टिन, प्रयोगशाला, छात्रावासको भवन निर्माण भइरहेका छन् भने ४४ कोठे भवन निर्माणको काम यही असार मसान्तसम्ममा सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ ।
सालझण्डी ढोरपाटन सडकको चिबेकमा स्थापित यो शिक्षालयमा पश्चिम नेपालका विभिन्न जिल्लाका विद्यार्थी अध्ययन गर्न आउने गरेका छन् । शिक्षालय स्थापनापछि सहरमा महँगो शिक्षा लिनुपर्ने बाध्यता हटेको शिक्षालयका वन विज्ञान प्रशिक्षक विनोद जेठारा क्षेत्रीले जानकारी गराउनुभयो ।
चिवेकमा अहिले होटल र पसल खुल्न थालेपछि त्यहाँका स्थानीय स्वरोजगार बन्ने र व्यवसायिक बन्ने अवसर पाएका छन् । भवन निर्माणका क्रममा केही स्थानीयले रोजगारी प्राप्त गरेका छन् भने केही स्थानीय कर्मचारीकै रुपमा शिक्षालयमा कार्यरत छन् ।
यसैगरी बाहिरी जिल्लाबाट आएका विद्यार्थीहरू कोठा भाडामा बस्न थालेको र गाउँघरका कोठा भाडामा दिएर घरखर्च चलाउने बाटो भएपछि स्थानीय समेत खुसी छन् । नजिकका बस्तीमा कोठा भाडामा दिएर आम्दानीको स्रोत जुटाउने अवसर समेत स्थानीयलाई मिलेको छ ।
शिक्षालयले स्थानीय स्तरमा विभिन्न तालीम सञ्चालन गरी सीप सिकाउने र आयआर्जनको ढोका समेत खोलिदिने गरेको छ । कम्प्युटर तालीम, सिलाई बुनाई तालीम लगायतका तालीम दिई स्वरोजगार बनाउन समेत मद्दत गरेको स्थानीय बताउँछन् ।



