विद्यालयमा नियमित नहुने शिक्षकले स्पष्टिकरण नदिएसम्म तलब रोक्का

उदयपुर /२० असार- उदयपुरको रौतामाई गाउँपालिकाले विद्यालयमा नियमित उपस्थित नभएको भन्दै शिक्षकहरुलाई स्पष्टिकरण सोधेको छ । गाउँपालिकाको शिक्षा शाखाबाट विद्यालयहरुमा स्थलगत अनुगमन गर्दा विद्यालयमा नियमित र उपस्थित हाजिरी नभएको भन्दै स्पष्टिकरण सोधेको हो ।


साथै बैशाख १८ गते देखि असार १३ सम्म स्थलगत अनुगमन तथा निरिक्षण गर्दा विद्यालयमा नियमित र उपस्थित हाजिरी नगरेको र पदिय दाइत्व अनुरुप जिम्मेवारी पूर्वक आफ्नो कर्तव्य निर्वाह नगरेको भन्दै पाँच दिन भित्र स्पष्टिकरण दिन निर्देशन दिएको थियो ।


स्पष्टिकरण अवधि भित्र शिक्षा शाखामा अनिवार्य चित्तवुझ्दो कागजात तथा प्रमाण सहित उपस्थित हुन वा प्रअ मार्फत पेश गर्न भनिएको छ । यदि पेश नगरेको खण्डमा कानुन बमोजिम कार्वाहि गरिने पत्रमा उल्लेख गरेको छ ।


अभिभावक, व्यावस्थापक समिति तथा केहि शिक्षकहरुबाट अत्याधिक धेरै गुनासो आए पछि अनुगमन तथा निरिक्षण गरिएको रौतामाई गाउँपालिका शिक्षा शाखा प्रमुख गोविन्द कार्कीले खबर एजुकेशनलाई जानकारी दिनु भयो ।


कार्किका अनुसार गाउँपालिका भित्रका ९ वटा विद्यालयमा अनुगमन गरिएको र केहि शिक्षकहरु लामो समय सम्म नियमित नरहेको कारणले स्पष्टिकरण सोधिएको बताउनु भयो । स्पष्टिकरण बुझाउने शिक्षकहरुको तलब निकासा गरिएको जानकारी दिनु भयो ।


सोधिएका मध्ये श्री मा.वि सल्ले,पञ्चावती आधारभुत विद्यालय रमिते र वालकन्या आधारभुत विद्यालय टाट्ने विद्यालयमा कार्यरत तिन जना शिक्षकहरुको स्पष्टिकरण आउन बाँकी रहेकोले तलब राकिएको जानकारी दिनु भयो । उक्त विद्यालयका तिन जना शिक्षकहरुलाई अघिल्लो आर्थिक वर्षमा कम्प्युटर खरिद गर्दा अर्थिक अनियमितता गरेको आरोप पनि छ ।


विद्यालयका लागि २० वटा कम्प्युटर खरिद गर्नु पर्नेमा २० वटा डेक्स्टप खरिद गरिएको र दुई वटा सिपियु मात्र खरिद गरि आर्थिक अनियमितता गरेको अनुगमनमा फेला परेको कार्किले बताउनु भयो । साथै पञ्चावती आधारभुत विद्यालय र वालकन्या आधारभुत विद्यालय अहिलेसम्म नखुलेको पनि जानकारी दिनु भयो ।


अनुगमन गरिएका विद्यालयहरुमा श्री मा.वि सल्ले,पञ्चावती आधारभुत विद्यालय रमिते,वालकन्या आधारभुत विद्यालय टाट्ने,श्री मा.वि माझखर्क, आधारभुत विद्यालय बोजेपानि,श्री महेन्द्र मा.वि पोखरी र श्री सरस्वती मावि माझपाटा रहेका छन । गाउँपालिका भित्र ४६ वटा आधारभुत विद्यालय र १४ वटा माध्यामिक विद्यालय रहेका छन ।