अङ्ग्रेजी भाषा कक्षाका नाममा शुल्क नउठाउन सार्वजनिक विद्यालयलाई निर्देशन

बाँके/ ७ असार-अङ्ग्रेजी भाषा माध्यमको छुट्टै कक्षाका नममा कुनै पनि शुल्क नउठाउन कोहोलपुर नगरपालिकाले विद्यालयलाई निर्दैशन दिएको छ । कोहोलपुर नगरपालिका क्षेत्रभित्र सञ्चालित बालविकास र कक्षा १ देखि ८ सम्मका सामुदायीक विद्यालयलाई नेपाली तथा अङ्ग्रेजी भाष माध्यमका कक्षाहरु पूर्ण निशुल्क रुपमा सञ्चालन गर्न निर्देशन दिएको हो ।


नगरपालिकाले सूचना जारी गर्दे अनिवार्य तथा निशुल्क शिक्षा कार्यन्वयनका लागि आधारभुत तहका सबै कक्षाको पठनपाठन तथा विद्यालय सञ्चालन खर्च नगर अनुदानबाट व्यावस्थापन गरिएको हुँदा नगर क्षेत्र भित्रका सामुदायीक विद्यालयलाई अङ्ग्रेजी भाषा माध्यमको छुट्टै कक्षाका नममा कुनै पनि शुल्क नउठाउन भनिएको छ ।


यदि नगरपालिकाको निर्देशन विपरित कुनै पनि समुदायिक विद्यालयले आधारभुत तहमा कुनै पनि प्रकारको अभिभावक शुल्क वा कुनै शिर्षकमा विद्यार्थीबाट शुल्क लिएको वा तिर्न बाध्य बनाउन कोशिश गरिएको पुष्टि भएमा शुल्क लिएको विद्यालयबाट विद्यार्थी/अभिभावकलाई तत्काल फिर्ता गराई त्यस्तो विद्यालयलाई कुनै पनि प्रकारको नगर अनुदान रोकिने चेतावनि दिएको छ । साथै सामुदायिक विद्यालयलाई अवश्यक कार्वाही प्रक्रिया अगाडि बढाइने जनाएको छ ।


त्यसैगरी कक्षा ९ र १० को वार्षिक तथा मासिक लगायतका शुल्क संरचना प्रष्ट्याइ पेश गरी स्वीकृसति लिन सबै सामुदायिक विद्यालयलाई भनिएको छ । संस्थागत विद्यालयको सवालमा विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ बमोजिम शुल्क कायम गर्न निर्देशन दिएको छ ।


साथै पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत पाठ्यपुस्तक र सन्दर्भ सामाग्रीबाट मात्र पठनपनठन गर्नु पर्ने र सबै संस्थागत विद्यालयहरुले पत्रको मिति देखि ७ दिन भित्र अनिवार्य विद्यालयको शुल्क संरचना तथा पाठ्यपुस्तकको सूचि पेश गर्न सूचित गरेको छ ।