संस्कृत भाषा साहित्य तथा शिक्षाको सामाजिक उपादेयता

काठमाडौं/३१ जेठ-सनातनी धर्म, संस्कृतिकाउर्वर तथा आधारभूमि आर्यावर्त क्षेत्र : आर्यावर्त भूमि नै सनातनी धर्म, संस्कृति विकासका आधारभूत जग मानिन्छ । सैद्धान्तिक आधारमा वेद, पुराण, उपनिषद, रामायण, महाभारत आर्यावर्त क्षेत्रका मुख्य धार्मिक, सांस्कृतिक धरोहर हुन् । आधुनिक ज्ञान, विज्ञान तथा प्राचीन दर्शन शास्त्रीय आधारका अनुपम प्राचीन, अर्वाचीनआर्ष साहित्यमा वर्णित देवभूमि, पवित्रात्मा, धर्मात्मामहर्षि, ऋषि, दार्शनिकहरुको अवतार भूमि नेपाल, भारत नै हुन् ।


सिद्ध पुरुषका सिद्धिका कथा तथा तपोभूमिहरु :

प्राचीनकालदेखि नै प्रायःपूर्वीय महापुरुष तथा सिद्ध प्रतिभाशाली व्यक्तित्वहरु जन्माउने पवित्र तपोभूमि, कर्मभूमि नेपाल, भारत, पाकिस्तान, चीन तथा उत्तरी क्षेत्रका हिमवत खण्डका शान्त तथा स्वर्गीय भूभागहरु नै रहेका छन् । एशियाली देशका दक्षिणी भागमा जन्मिएका आध्यात्मिक साधकहरु समेत तपोसिद्धि तथा भगवद् साधनाका लागि हिमाल लक्षित प्रस्थान तथा कठोर तपस्याबाट मुक्ति तथा गन्तव्यको लक्ष्यप्राप्त गरेको पाइन्छ । आध्यात्मिक चेतनाकायी सिद्धासनका विभिन्न क्षेत्रहरु मध्ये भूगोलका आधारमा आर्यावर्त नामका धेरै क्षेत्रमा भारत, पाकिस्तान, अफगानिस्तान, नेपाल, बर्मा, बंगलादेश, श्रीलंका, चिन, लाओस्, थाइलैण्ड जस्ता मुलुक हुँदै पूर्वी एशिया, दक्षिण एशिया तथा समग्र एशिया खण्ड हुँदै अरबसम्म विस्तार भएका भूभाग मानिन्छन् ।


तर कालान्तरमा राजनीतिक विभाजनका साथ धार्मिक, सांस्कृतिक र सामूहिक आस्था गत विभाजन मायी भूखण्डहरु अलग अलग हुन पुगे । यसरी राजनीतिक भूखण्डमा नेपाल र भारत चाहिँ हिन्दू ओँकार परिवारका समूहको बाहुल्यता भएका मुलुकमा सिमित भए । अन्यदेशहरु चाहिँ ओँकार परिवारका साथ साथै, फरक फरक धार्मिक आस्था, दर्शन र सांस्कृतिक विधिबाट स्थानीय धर्म र आध्यात्मिकताका बाहक बनिरहेका र आआफ्नो सनातनी आस्थाको रक्षार्थ संघर्षरत पाइन्छन् ।


सनातनी धर्मशास्त्रका आधार स्तम्भ महर्षि वेदव्यास :

महर्षि वेदव्यास नै श्रुति परम्परामा चलिआएको वेदशास्त्रका संकलक हुन् भनिन्छ । उनले वेदको व्याख्या, वेदको विभाजन, वेदहरुको लक्षित अनुरुपको नामाकरण तथा उपवेदहरुको विस्तार समेत गरे । वैदिकभाषाको कठिनतालाई ध्यानदिएर लौकिक सरल भाषामा १८ औं महापुराण, पुराणहरुको रचना गरे भनिन्छ ती महर्षिको तपस्यास्थल तनहुँको व्यास गुफा थियो । महर्षिले प्रारम्भ गरेको मार्गमा उनका शिष्यहरुले निरन्तरता दिए । कालान्तरमा तपस्वी, सिद्ध पुरुषहरुले व्यवहारिक ज्ञानविज्ञानको आत्मसिद्ध प्रयोगलाई ध्यानमा राखेर हजार संख्याका उपनिषदहरु समाजलाई दिए । तर समयक्रम अनुसार कति सुरक्षित रहे कति नष्ट भएर गए र अहिले सय, दुई सयको हाराहारीमा मात्र उपनिषदहरुको अस्तित्व रहेको पाइन्छ ।


पुराण तथा धर्मशास्त्रहरुको जीवनमा सामाजिक प्रयोग :

सबै पुराणहरु भगवानका गुणगान र महिमा वर्णनमा आधारित छन्, देवता विशेषका स्तुतिबाट जीवनका हरेक अभाव र कठिनाइहरु समाप्त हुन जाने सनातनी विश्वासमा हिन्दूहरुले अहिले पनि पुराणवाचन र यज्ञ अनुष्ठान गर्ने गरेका पाइन्छन् । ती पुराणहरु मध्ये श्रीमद्भागवतमहापुराण, देवी भागवत महापुराण बढी प्रचलित छन् । कर्मकाण्ड जस्ता धार्मिक अनुष्ठानका विषयमा समेटिएका साधना र प्रयोग पक्षबाट आधुनिक मानव समाज धेरै लाभान्वित हुँदै आएको छ ।


चण्डी, गीता, रामायण जस्ता शक्ति र भक्ति साधनाका जीवनोपयोगी ग्रन्थहरुको घर घरमा स्थान सुरक्षित हुनु तथा तिनको प्रत्यक्ष, अप्रत्यक्ष दैनिक रुपमा प्रयोग हुनु नेपाल भारतका विशेषता हुन गएका छन् । नागरिकमा सामाजिक मूल्य मान्यता कायम गर्ने नैतिक शिक्षाको आधार जग, रामायण, महाभारत तथा पुराणहरु हुन् । देव, दानव तथा राजामहाराजाहरु सबै किसिमका राजनीतिक, सांस्कृतिक, धार्मिक, शैक्षिक चरित्रका आदर्श तथा खलपात्रहरुको पात्रचरित्र विधानको व्याख्या र विविधकार्य स्वरुपका अनुकरणीय तथा त्याज्य चरित्रका पात्रहरुको यर्थाथता जनसमक्ष उद्घाटित उदाहरण हुन् र गर्नुमा आजपर्यन्त पौराणिक शास्त्रहरुको वर्णन र अनुसरण गर्ने गरिन्छ ।


ऋषि, महर्षिको सर्वसिद्धीको महिमामण्डित संस्कृत भाषा साहित्य :

वैदिक तथा आधुनिक संस्कृत भाषा साहित्यको वैज्ञानिक श्रीवृद्धि तथा विकासमा प्राचीन ऋषि, महर्षिहरुको ठूलो योगदान छ । संस्कृत भाषा शास्त्रको भाषिकतत्वको सर्वाङ्ग विकासका पक्षमा अकाट्य विश्लेषणात्मक प्रमाणसहित वैज्ञानिक सिद्धान्तका प्रवर्तक महर्षि पाणिनीको स्थानविश्वका सुप्रसिद्ध पश्चिमा भाषा शास्त्रीहरु समेतबाट सर्वोच्च हुने कुरा ससम्मान स्वीकारिएको पाइन्छ । त्यसरी नै भाषा क्षेत्रमा कात्यायन, पतञ्जलीको योगदान अविस्मरणीय छ । संस्कृत भाषामा रचित शारीरिक स्वास्थ्य विज्ञान, योगदर्शन तथा विविध ज्ञानविज्ञानका विषय केन्द्रितअतिगहन चिन्तनका महाभाष्यहरु साहित्यजगतमा अति प्रसिद्ध छन् ।


दैनिकजीवनमाप्रयोग हुने ज्ञानविज्ञानका विषयहरु :

देवगुरु बृहस्पति, दैत्यगुरु शुक्राचार्य, त्रिकालदर्शी ज्ञानविज्ञान तत्वदर्शी सिद्धान्तका प्रतिपादक भृगुसंहिता लगायतका रचनाकार महर्षिहरुका नीतिशास्त्र, ज्यौतिषग्रह, उपग्रह र भूमण्डलका विभिन्नपक्षको प्रयोग आजपर्यन्त हुँदै आएको छ । व्याकरण, निरुत्त, छन्द, ज्योतिष, कल्प र मीमांसा जस्ता षड दर्शनहरुको आधारमा समाज, मानवशास्त्रको विकास क्रम तथा अध्ययन अध्यापन हुँदै आएको पाइन्छ । यसरी प्राच्य दर्शनका प्रणेता तथा व्याख्याता ऋषि, महर्षिहरुको योगदान समाजमा आजपर्यन्त जीवन्त र प्रयोगमा अति विशिष्टीकृत छन् भन्न सकिन्छ ।


नेपाल तथा भारत वर्षमा पछिल्ला अवधिमा रचित कौटिल्यको अर्थशास्त्र, आयुर्वेदका सर्जक धन्वन्तरी, आयुर्वेद चरक संहिता, यास्काचार्य जस्ता आदि आचार्यहरुका मानवीय जीवनमा बहु आयामिक पक्षका उत्कृष्ट ज्ञानलाई जे जसरी मानव जीवनमा प्रयोग हुनपर्ने हो, त्यसलाई जानेर नजानेर पछिल्लो शिक्षा पद्धतिमा पूर्वाग्रह साथ ओझेलमा पार्ने कसरत भइरहेको गुनासा सुनिन्छन्, यसो हुनु नेपाल, भारतका लागि सांस्कृतिक, धार्मिक तथा स्वपनको स्वाभीमानका लागि शुभ संकेत मान्न सकिंन्दैन ।


सनातनी धर्म तथा संस्कृत भाषाः

संस्कृतको अर्थ संस्कार गरिएको हुन्छ । अक्षर ब्रह्म, शब्दब्रह्म, वाक्यब्रह्मको सामथ्र्य राख्ने संस्कृत भाषालाई सनातनीहरु देवभाषा मान्दछन् । प्राचीन नेपाल तथा भारत वर्षको शिक्षा पद्धतिमा वैदिक, पौराणिक कालीन संस्कृत भाषा साहित्यको ठूलो योगदान छ । यसर्थ मानवीय जीवनका बहु आयामिक पक्ष तथा सामाजिक उपादेयतामा संस्कृतको धेरै महत्वपूर्ण स्थान देखिन्छ । तसर्थ संस्कृत भाषा साहित्यको महत्ताको तुलनामा संसारमा अन्य कुनै भाषा साहित्य र घटनाक्रमहरुको स्थान छैन । अर्थात सनातनी धर्म तथा संस्कृत भाषासित संसारका अन्यकुनै भाषा सित तुलना हुन सक्दैन भन्ने दावी गरिन्छ ।


संस्कृत शिक्षाको मानवीय जीवनमा बहु आयामिक उपादेयताः आर्यावर्त भूमिमाआर्य संस्कृतिमा आधारित गुरु शिष्य पद्धतिमा जनशक्ति तयार पार्ने गरिन्थ्यो । कृषि, गौसेवा र पेसागत सीपका लागि गुरुहरुले आफ्ना शिष्यहरुलाई व्यवहारिक शिक्षा दिने गर्दथे । शिष्यहरुको आत्मिक क्षमता विकास, उनीहरुमा अन्तर्निहित मोह, माया तथा अज्ञानरुपि अन्धकार नास गर्ने आत्म ज्ञानका मार्ग खोल्नु शिक्षाको मुख्य उद्देश्य हुन्थ्यो । यसर्थ संस्कृत शिक्षण पद्धतिमा प्राचीन ज्ञान विज्ञानको जगमा टिकेर आधुनिक ज्ञान विज्ञान र विशुद्ध आत्मचेतनाको अभिवृद्धि गर्ने, गराउने तथा पूर्ण मानव जीवनको स्वरुप प्रदान गर्ने मुख्य कारणहरुको यथार्थता पहिल्याएर शिक्षाका विषय वस्तु र क्षेत्रहरु निर्धारण गरिएका हुन्छन् । यसर्थ संस्कृत शिक्षाको मानवीय जीवनमा बहु आयामिक उपादेयता धेरै रहेको स्पष्ट हुन्छ ।


संस्कृत शिक्षण प्रणाली र ज्ञानको सुरक्षा दायित्व :

यति विशाल तथा सामाजिक उपयोगिताको भण्डार संस्कृत शिक्षा प्रणाली राज्य, सरकार तथा जिम्मेवार पदाधिकारीहरुको उदासिनताका कारण संकुचित भएको छ । शिक्षा प्रणालीमा आधुनिकता तथा विकास समृद्धि र वैज्ञानिकताका नाममा संस्कृत भाषा, साहित्य तथा शिक्षा प्रणाली विरोधी पश्चिमा संस्कृति पक्षधारको अनुचित बढोत्तरी पाइन्छ । नेतृत्वको संकोचित प्रवृत्तिको पूर्वाग्रही मानसिकताले आधुनिक समाजका युवायुवती र बालबालिकाहरुमा नकारात्मकता भावविकास हुनगएको छ । समृद्धिका नाममा प्राकृतिक चिकित्सा, आयुर्वेद, संगीत, ज्ञानविज्ञान र आध्यात्मिक शक्ति साधनाका पक्षलाई उपेक्षा गरिएको छ ।


फलतःनेपाली समाज बढी आत्मकेन्द्रित स्वार्थी र दिगभ्रमित हुँदै जाँदा देशको समग्र धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक जगत अशान्तिको भुँमरीमा फस्दै विनासतिर एकहोरिएको पाइन्छ । यसर्थ संस्कृत शिक्षाको सामाजिक उपादेयता र मानवीयपक्षको विगतकाल देखिको योगदानलाई तत्कालीन समय, कालखण्डका विशिष्टताका आधारमा विश्लेषण गरी समय सापेक्ष आधुनिकताका सीप, पेसा र ज्ञान विज्ञानका विषय वस्तु र भाषा साहित्यको अभिवृद्धिमा लाग्नु राज्य, सरकार तथा शिक्षाविद्हरुको राष्द्रिय धर्म र कर्तव्य हुन जान्छ ।

जीवनोपयोगी नीतिशास्त्र, पेसा, सीप र प्रयोग पक्ष समेतलाई आत्मसात गर्दै संस्कृत भाषा साहित्यका ज्ञान निधिलाई शिक्षण पद्धतिमा पूर्ण प्रयोगमा ल्याएर स्वपनको संरक्षण गर्न सक्नु नागरिक कर्तव्य हुन जान्छ । पूजागर्नु, कर्मकाण्डमा पण्डित ढोग्नुले मात्र संस्कृत प्रतिसम्मान गरेको हुने छैन र घात गरेको हुने छ । तसर्थ संस्कृत शिक्षा पद्धतिको विस्तार तथा प्रयोगलाई सकुचित हुनबाट बचाउने र विस्तार गर्ने एक मात्र उपयोगी मार्ग सरल भाषा शैलीमा आम जनताका बीचमा अध्ययन अध्यापन र विशिष्ट नागरिकको उत्पादन हुने विश्वास गर्न सकिन्छ ।