कोरोनाको तेस्रो लहरमा बालबालिका बढी संक्रमित हुन सक्ने : मन्त्रालय

काठमाडौं/२२ जेठ-कोभिड-१९ महमारीको दोस्रो लहर नियन्त्रण उन्मुख हुँदै गएको अवस्थामा दोस्रो लहर पश्चात् तेस्रो र चौथो लहर ‘आउन सक्ने’ भन्दै तयारी अवस्थामा रहन स्वस्थ्य तथा जनसंया मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले प्रथम र दोस्रो लहरले अत्यधिक मात्रामा प्रौढ तथा युवा संक्रमित भएको जानकारी दिदै तेस्रो चौथो लहरमा बालबालिका बढी मात्रामा संक्रमित हुन सक्ने औलाएको छ ।

दोस्रो लहर जस्तै पुनः तेस्रो र चौथो लहर आउन सक्ने र त्यसले बालबालिका बढी मात्रामा संक्रमित हुन सक्ने अवस्थालाई मध्य नजर गर्दे सबै अस्पताल स्वास्थ्य संस्थालाई स्वीकृत शैयाको कम्तीमा २० प्रतिशत कोभिड–१९ संक्रमित बालबालिका उपचारमा प्रयोग हुनेगरी तयारी अवस्थामा राख्न आग्रह गरिएको छ ।

गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायका अनुसार संक्रमण दोस्रो लहरजस्तै तेस्रो, चौथो आउन सक्ने र त्यसबाट बालबालिका बढी संक्रमित हुन सक्ने भएकाले सबै अस्पताललाई शैया छुट्याउन परिपत्र गरिएको छ । साथै तेस्रो र चौथो लहरका लागि वैकल्पिक अक्सिजनको व्यवस्थापन गर्न सम्पूर्ण अस्पताल तथा स्वास्थ्य संस्थालाई पत्र मर्फत आग्रह गरिएको छ ।