विद्यार्थीको नम देखिने गरी सामाजिक संजालबाट नतिजा प्रकाशन नगर्न विद्यालयलाई निर्देशन

मकवानपुर/ ६ जेठ -हेटौँडा उपमहानगरपालिकाले वार्षिक मुल्याङकनका आधारमा वर्षिक परीक्षाको नतिजा प्रकाशन गर्न नगर क्षेत्र भित्रका सबै सार्वजनिक तथा संस्थागत विद्यालयहरुलाई निर्देशन दिएको छ ।

कोभिड-१९ का कारण तत्काल भौतिक रुपमा परीक्षा सञ्चालन गर्न कठिन भएकोले वार्षिक मुल्याङकनका आधारमा नतिजा प्रकाशन गर्ने नगर शिक्षा समितिले निर्णय गरेको छ ।

यस अघिनै सूचना जारी भए अनुसार वार्षिक परीक्षा भएको विषयको हकमा त्यसैलाई आधार मान्ने र परीक्षा नभएका विषयको हकमा सम्भव भए सम्म भर्चुअल माध्यमबाट सूचना प्रविधिको प्रयोग गरी गर्ने यदी सम्भव नभएको खण्डमा त्रेमासिक परीक्षा , निरन्तर विद्याथी मुल्याङकन र अन्य शैक्षिक गतिविधिलाई आधार मानी नतिजा तयार गर्न भनिएको छ ।

त्यसैगरी विद्यालयले आन्तिरीक मूल्याङकनको कार्य सम्पन्न गरी जेठ २० गते भित्र नतिजा प्रकाशन गरी शिक्षा महाशाखामा जानकारी पठाउनु पर्ने छ । ।

विद्यालयले नतिजा प्रकाशन गर्दा मोबाईल फोन ,इमेल,ग्रुप म्यासेज, म्यासेन्जर च्याट आदी माध्यमबाट विद्यार्थीलाई जानकारी गरउनु पर्ने र विद्यार्थीको नम देखिने गरी सामाजिक संजालबाट नतिजा प्रकाशन नगर्न सबै विद्यालयलाई सूचित गरीएको छ ।

यस वर्षको शैक्षिक सत्र जेठमा सकेर भर्ना प्रकृया अषाढ पहिलो हप्ताबाट मात्र सुरु गर्न भनिएको छ । त्यस्तै कक्षा ८ को हकमा नगरपालिकाले यथाशिघ्र निर्णय गर्ने जनाएको छ ।