काठमाडौं /३१ बैशाख -निजी विद्यालयहरुको छाता संगठन प्याब्सनले कोभिड–१९ महामारी तथा विपद व्यवस्थापन समिति गठन गरेको छ । निजी विद्यालय सञ्चालक, प्रिन्सिपल, शिक्षक–कर्मचारी, विद्यार्थी तथा आमजनसमुदायलाई सहयोग तथा राहत पु¥याउने उद्देश्यले कोभिड–१९ महामारी तथा विपद व्यवस्थापन समिति गठन गरेको हो ।
कोभिड–१९को दोस्रो लहरको महामारीले नेपालमा भयावह रुप लिदै गएको अवस्थामा अस्पतालहरुमा उपचार पाउन कठिन बन्दै गएको छ । अक्सिजन तथा औषधिहरुको अपर्याप्तताका समाचारहरु आउन थालेका छन् । यस्तो परिस्थितिमा सरकार मात्रको एक्लो प्रयास पर्याप्त नहुने भन्दै सहयोगका लागि प्याब्सनले सुरु गरेको विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
देशै भरी विद्यालय सञ्जाल रहेको प्याब्सनले केन्द्रीय अध्यक्ष टीकाराम पुरीको संयोजकत्वमा कोभिड–१९ महामारी तथा विपद व्यवस्थापन समिति गठन गरी प्याब्सन राहत कोषको स्थापना गरेको छ ।
कोभिड–१९ राहत प्रयास अन्तर्गत संगठनका सम्पूर्ण सदस्य विद्यालयले स्थानीय तह, प्रदेश र नेपाल सरकारसँग वा अन्य संघ–संस्थाहरुसँग समन्वय गरी अक्सिजन सहितको आइसोलेशन बेडहरुको व्यवस्थापन गर्ने, पीडितहरुलाई विपदको बेलामा आवश्यक यातायातको साधनहरु उपलब्ध गराउने, आमनागरिक लगायत प्रमुख रुपमा प्रभावित विद्यालय सञ्चालक, प्रिन्सिपल, शिक्षक–कर्मचारी, विद्यार्थीहरुको विवरण संकलन गरी आवश्यक सहयोग गर्ने तथा विद्यार्थी, अभिभावकहरु एवं आमनागरिकहरुमा जनचेतनामूलक कार्यहरु साथै मनोवैज्ञानिक परामर्शका कार्यहरु अबिलम्ब थालिने छ विज्ञप्तिमा उल्लेख छ ।
साथै प्रदेश, जिल्ला तथा पालिका कार्यसमितिहरुले आ–आफ्नो स्थानमा सरकार तथा अन्य सरोकारवाला संघ–संस्थाहरुसँग आवश्यक सम्पर्क, समन्वय र सहयोग गरी मूल समितिमा जानकारी गराउन हुन समेत यसै विज्ञप्ति मार्पmत आग्रह गरेको छ ।
त्यसै गरी आवश्यक कार्यसम्पादनका लागि उपसमिति समेत गठन गरेको छ । जसमा केन्द्रीय अध्यक्ष टीकाराम पुरीको संयोजकत्वमा आर्थिक स्रोत व्यवस्थापन तथा परिचालन उपसमिति, केन्द्रीय कार्यसमितिका सह–अध्यक्ष डीके ढुँगानाको संयोजकत्वमा समन्वय तथा सहायता उपसमिति, केन्द्रीय सल्लाहकार आशिष श्रेष्ठको संयोजकत्वमा आर्थिक स्रोत पहिचान तथा संकलन उपसमिति, केन्द्रीय महासचिव कुमार घिमिरेको संयोजकत्वमा विवरण संकलन, सूचना तथा संचार लगायतका उपसमितिहरु गठन गरी केन्द्र, प्रदेश, जिल्ला तथा स्थानीय पालिका तहसम्मका सदस्य विद्यालयहरुको सहयोग तथा सक्रियतामा तत्काल कार्य प्रारम्भ गर्ने निर्णय गरेको जनाएको छ ।



