काठमाडौं /२८ बैशाख -सरकारले रेलचालक वा सहचालक हुनका लागि कम्तिमा प्लस टु उत्तीर्ण गरेको हुनु पर्ने कानुन ल्याएको छ । मन्त्रिपरिषद्को सिफारिसमा हालै राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी रेल्वेसम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशको दफा १८ मा रेलचालक वा सहचालकको योग्यताबारे व्यवस्था गरिएको छ ।
रेलचालक वा सहचालक हुनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट विज्ञान विषयमा प्लस टु उत्तीर्ण गरेको वा मेकानिकल वा अटोमोबाइल विषयमा कम्तीमा डिप्लोमा उत्तीर्ण गरेको हुनुपर्न व्यावस्था गरेको छ । त्यसै गरी दफा १८ को ‘ख’ मा मान्यता प्राप्त प्रशिक्षण संस्थाबाट रेल चालकको तालिम चलाउन योग्य प्रमाणपत्र प्राप्त हुनुपर्ने व्यवस्था गरिएको उल्लेख छ ।
२५ वर्ष पुगेका र ५० वर्ष उमेर ननाघेको व्यक्ति रेल चालक हुनका लागि कम्तीमा तीन वर्ष रेल सहचालकका रूपमा काम गरेको हुनुपर्ने छ । शारीरिक वा मानसिक अस्वस्थताका कारण रेल चलाउन योग्य नभएको, दृश्य शक्ति कमजोर भई चस्मा प्रयोग गर्दा पनि सामान्य तवरले देख्ने शक्ति ठीक नभएको, हात वा खुट्टा शक्तिहीन भई काम दिन नसक्नेलगायतलाई भने मान्यता नदिइने अध्यादेशमा व्यवस्था छ ।



