लकडाउनको शल्यक्रिया र सुखद बिकल्प

काठमाडौं /२० बैशाख – दोस्रो विश्व युद्ध चल्दै गर्दा बेलायत–अमेरिका नेतृत्वको एलाइड फौजका थुप्रै बमवर्षक विमानहरु जर्मनीका सेनाले खसाल्थे तर केही चाहिँ गोली लागेका थुप्रै प्वालहरुसहित फर्किन सफल हुन्थे । त्यसरी फर्किन सफल विमानहरुको तथ्य विश्लेषण गर्दा गोली विमानको मूख्य रुपमा पखेटा र बडीमा लागेको पाईयो र समाधान निकालियोः ती ठाउँहरुमा सुरक्षा कवच अझ मतबुत बनाउने ।


तर विमानको डिजाईन बदल्नु अघि हंगेरीका तथ्यांकविद अब्राहम वाल्डले जब यो तथ्यको थप विश्लेषण गरेर निष्कर्श निकाले, सबै चकित भए । उनका अनुसार यो अध्ययन सबै आक्रमणमा परेर सफल रुपमा फर्किएका विमानहरुमा मात्र सीमित थियो तर जुन विमानहरु खसालिए, तिनलाई अध्ययनले समेटेको थिएन । उनले योविश्लेषण पूर्णरुपमा गलत भएको निष्कर्श निकाले किनकी यसले त विमानको कुन कुन हिस्सामा गोली लागे पनि फर्किन सक्छ भन्ने मात्र देखाउँदथ्यो । यस्तो विश्लेषण “सर्भाईवल बायस” को रुपमा प्रसिद्ध छ किनकी यसले सफल वा शक्तिशाली व्यक्ति, राष्ट्र, घटना वा प्रयासलाई ठीक मान्दै अनुसरण गर्छ, जबकी यसको कमजोर र असफल पक्षलाई पूरै बेवास्ता गर्छ ।


उनले तत्काल ती विमानहरुको कुन–कुन हिस्सामा गोली लागेको छैन भन्ने अध्ययन गर्दाईन्जिन, ककपिट र पुच्छरको एक हिस्सामा गोली नलागेको पत्ता लगाए जुन सबैभन्दा संवेदनशील हुन् । त्यसपछि विमानको ती भागहरुको मजबुती बढाएपछि दोस्रो विश्वयुद्ध मात्र हैन, भियतनाम युद्ध लगायत त्यसपछिका सबै युद्धहरुमा अत्यधिक रुपमा सफलता हासिल भयो र बमवर्षक विमानको डिजाईन नै सँधैका लागि परिवर्तन भयो ।


ठीक त्यस्तै “सर्भाईवल बायस” विश्लेषण नेपालले कोभिड–१९ को महामारी व्यवस्थापनमा गरेको आभाष हुन्छ । आज हामी कोभिड–१९ को महामारी रोकथामका लागि त्यही बेलायत, अमेरिका र थुप्रै सम्पन्न र शक्तिशाली यूरोपेली देशहरुले अवलम्बन गरेको लकडाउन, क्वारेन्टिन, आइसोलेशन र भ्याक्सिनको रणनीतिको समग्रतामा सिको गर्दैछौं । करीब डेढ् वर्षको अनुभवले भन्छ, यी रणनीतिहरु ती देशहरुमै समेत प्रभावविहीन र असफल छ । उच्च जीवनस्तर र उत्कृष्ट सामाजिक सुरक्षा भएको तथा सर्वाेत्कृष्ट स्वास्थ्य सुविधा र संरचना भएका यी मूलुकहरु नराम्ररी पछारिएको देख्दा देख्दै चरम गरिबी र अभावको परनिर्भर अर्थतन्त्र भएको हाम्रो देशले कोरोना भाईरसको “नयाँ भेरिएन्ट”को फैलावट र छिमेकी मुलुक भारतमा यसको संक्रमण आकाशिंदै गरेको परिदृष्यमा नेपालमा फेरी सरकारी स्तरमा लकडाउन र बन्दाबन्दीको तयारी सुरु गरेको छ भने जनमानस चाँही भाईरसको त्रासले भन्दा पनि यसबाट सिर्जित हुनसक्ने चरम आर्थिक संकटको त्रासले आक्रान्त छ । जनतालाई मृत्युन्मूख चरम पीडा दिने लकडाउनको असफल नीति दोहो¥्याउनु भन्दा पहिला कोभिड–१९ को व्यवस्थापनमा सबैभन्दा सफल भएका र असफल भएका देशहरुको रणनीतिको विष्लेशण गरिनु आवश्यक छ ।

कुन कुन देश कसरी सफल भए त ?


कोभिड–१९ को सर्वाेत्कृष्ट व्यवस्थापन गर्ने ५ देशहरु र तिनको अवस्थायसप्रकार छः

कोभिड–१९ को सर्वाेत्कृष्ट व्यवस्थापन गर्ने ५ देश

चीनको वुहानको छिमेकमा रहेको ताईवानले कोरोनाको पहिलो केस् देखिनु अघि नै परीक्षण र क्वारेन्टिन सुरु गरेको थियो तर फरक यति थियो कि उसलेउक्त परीक्षण अन्धाधुन्ध रुपमा नगरी वुहानबाट आउनेमात्रैमा केन्द्रित ग¥्यो । आफ्नो रणनीतिबाट अग्रगामी सफलता पाई २०२० को अक्टोबरसम्म शुन्य संक्रमणका २०० दिन पार गरेको ताईवानमा नोभेम्बरमा एकैदिन २४ केस देखिएपछि तत्काल ईन्डोनेसियाली आप्रवासी कामदारबाट संक्रमण फैलिएको तथ्य पत्ता लगाई उक्त समुह लक्षित टेस्टीङ र क्वारेन्टिन सुरु गरी तत्काल भाईरस कन्टेन गर्न सफल भयो । न्युजील्याण्डले सुरुमै नयाँ केन्द्र र अध्यादेश मार्फत स्वास्थ्यकर्मीहरुलाई फरक रुपमा सक्रिय गरायो । यात्रामा निशेधाज्ञा जारी गर्दै निर्मूलन रणनीति लिएर सफल भयो । त्यस्तै आईस्ल्याण्डले सुरुमै प्रभावकारी कन्ट्याक्ट ट्रेसिङ टिम परिचालन गर्यो र हरेकशंकास्पदलाई घरमै बस्न दिई उसको तलब सुबिधा सरकारले व्यहोरेरभाईरस कन्टेन गर्न सफल भयो ।


सिङ्गापुरले सीमामा कडाई, प्रचुर परीक्षण, कन्ट््याक्ट ट्रेसिङ तथा प्रविधीको प्रयोगलाई हतियार बनायो । ७ वर्षभन्दा माथिका विद्यार्थीहरुलाई अनिवार्य रुपमा विशेष डिभाईस वा राज्यले बनाएको एप प्रयोग गर्न भनियो र धेरै संक्रमित भएपनि न्यून मृत्यु संख्या कायम गर्न सफल भयो । भियतनामको सफलता भने यात्रामा निशेधाज्ञा, चीनसँगको बोर्डर बन्द र बोर्डरमा उच्च परीक्षणबाट प्राप्त भयो । जम्मा ४ महिना विद्यालय बन्द गरेको भियतनाममा जुलाईमा दनाङ् शहरमा एकै हप्ता ४५० जना संक्रमित भेटिएपछि तत्काल त्यहाँबाट अस्सी हजार पर्यटकलाई फिर्ता पठाएर शहर लकडाउन गरेर नियन्त्रण गरियो । अहिले पनि बेलायतीनयाँ भेरिएन्टको संक्रमण बढ्दै गर्दा आफ्नो रणनीतिबाट नियन्त्रण गर्न सकिनेमा भियतनाम ढुक्क देखिन्छ ।

कुन कुन देश कसरी असफल भए त ?


कोभिड–१९ को सबैभन्दा खराब व्यवस्थापन गर्ने ५ देशहरु र तिनको अवस्था यसप्रकार छः

कोभिड–१९ को सबैभन्दा खराब व्यवस्थापन गर्ने ५ देशहरु

अमेरिकामा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको हठ, रोगको गलत विश्लेषण, डब्लुएचओसँगको टक्कर, ढिलासुस्ती र भारतीय औषधी हाईड्रोक्सीक्लोरिकिन प्रतिको गलत विश्वास रोग नियन्त्रण नहुनाका कारण देखिन्छन् भने ब्राजिलको असफलताको पछाडी राष्ट्रपति जायर बोल्सोनारोको चरम लापरवाही, जिरो कन्ट््याक्ट ट्रेसिङ, सुरक्षा मापदण्डको विरोध, अत्यावश्यक लकडाउन नगर्नु, आदि प्रमुख कारण रहेका छन् । ट्रम्प र बोल्सेनारो दुबै आफैं कोरोना संक्रमित भैसकेपछि मात्र केही संवेदनशील भएका थिए । मेक्सिकोमा त राष्ट्रपति एन्ड्रेस ओब्राडर आफैंले दुई थरी बुटी देखाएर मेक्सिकोको अध्यात्मिकताले कोरोनाबाट बचाउने भन्दै बोर्डर सील नगरेर र एयरपोर्टमा सावधानी नअपनाएर भाईरस फैलाउनमा आफैं सहयोगी भए ।
विश्वलाई शक्ति राष्ट्रको रुपमा चिनाउने दौडमा रहेको भारत चाहिँ आफैंले बनाएको औषधी हाईड्रोक्सीक्लोरिकिनको प्रयोग, प्रधानमन्त्री नरेन्द्र मोदीको खोक्रो भाषणबाजी, गरिब कामदारहरुको आर्थिक असुरक्षा तथा जनताहरुको अनियन्त्रित गतिबिधीहरुको कारणबाट असफल भएको देखिन्छ भने बेलायत भने ढिलो गरिएको लकडाउन, काम र व्यवसायको नियमित संचालनमा जोड्, कन्ट्याक्ट ट्रेसिङमा रोकावट, यात्रामा निशेधाज्ञा नहुनु, आदिको कारणबाट असफल भएको देखिन्छ ।

तान्जानियाको तमाशा रमदागास्करको मजाक
कोभिडकै बीच तान्जानीयाका राष्ट्रपति जोन मगुफुलीले कोरोना भाईरसको मात्र हैन, त्यसको परीक्षणमा प्रयोग हुने टेष्ट–किटको समेत धज्जी उडाउन आफूले बाख्रा, भेंडा र मेवाको स्याम्पल लिएर मान्छेको नाम दिई परीक्षण गराउँदा कोरोना पोजिटिभ देखिएको भनेर गरेको तमाशानिकै चर्चामा आयोभने मदागास्करका राष्ट्रपति एन्ड्री रजोईलिनाले आफ्नै देशमा बनाउन लगाएको कोभिड अर्गानिक्स अर्थात तीतेपातीको रसलाई कोरोनाको औषधीको रुपमा प्रस्तुत गरेको प्रसंग पनि एउटा मजाक जस्तो मात्र साबित भयो किनकी ती दुबै देशमा कोरोनाको प्रकोप रोकथाम हुन सकेन ।


मगुफलीको निधन भैसकेको छ र प्रतिपक्षले उनको निधन कोरोनाबाट भएको दाबी समेत गरेका छन् भने रजोईलिनाले भने हालसम्म पनि कोभिड–१९ विरुद्धको भ्याक्सिनलाई मदागास्कर छिर्न दिएका छैनन् ।

नेपालको नाटक र नौटंकी
यता नेपालमा पनि थुप्रै नाटक र नौटंकी भए तर प्रकोपको प्रभाव नियन्त्रण भने पशुपतिनाथकै भर भएजस्तो भयो । सुरुमै एयरपोर्ट र भारतसँगको बोर्डरमा कडाई र नियन्त्रण गर्न चुकेको सरकारले २ जना संक्रमित हुँदा देशभर लकडाउनको घोषणा गर्यो जुन केवल असफल रणनीतिको देखासेखीमा गरिएको धुरी चढाई मात्र थियो किनकी भाईरस कन्टेन गर्न जुन सावधानी र रणनीति आवश्यक थियो, त्यसमा कामै हुन सकेन ।


त्यसैगरी गुर्जो, बोझो, बेसार–पानी, नून–पानी हुँदै अहिले अम्बाको पातको कुरा हुँदै गर्दा नेपालले मेक्सिको, ब्राजिल, तान्जानिया, मदागास्कर, आदिजस्ता देशहरुको नेतृत्वको अन्धविश्वास र हठको कारणबाट भएको क्षतिबाट सिक्न जरुरी छ । महामारीबीच अत्यावश्यक स्वास्थ्य सामग्री खरीदमा भएको भ्रष्टाचार, सत्तारुढ दलभित्रको राजनैतिक किचलो, आलोपालो सडकमा भएको शक्ति प्रदर्शन, आदिका बीच संक्रमितको संख्या दशौं हजार हुँदा खुकुलो पारीएको लकडाउन हालैएकहजार भन्दा कम संक्रमित भएको अवस्थाबाट“नयाँ भेरिएन्ट”को हवाला दिईँदै दोस्रो लहरको त्रास सिर्जित हुँदैछ र सरकार तत्काल विद्यालय बन्ददेखि लकडाउनको तयारी गर्दैछ । यस बीच ललितपुरको मत्स्येन्द्रनाथको जात्रामा भएको स्थानीय र प्रहरी–प्रशासनबीच भएको झडप पनि आविस्मरणीय छ किनकी त्यो निशेधाज्ञाको बीचमा भएको थियो र त्यस घटनाबाट संक्रमितको संख्या आकाशिने भनिएको थियो तर नतिजा त्यस्तो भएन ।


गतवर्ष भाईरस, लकडाउन, क्वारेन्टिन, आईसोलेशन, आदि सबै नयाँ थिए र जनता त्रसित थिए । अहिले अवस्था फेरिईसकेको छ र जनताले धेरै कुरा भोगिसकेका छन् । त्यसैले जनता यी कुराहरुबाट मात्र भाईरस कन्टेन नहुने बरु चरम आर्थिक संकट उत्पन्न भई मानसिक र भावनात्मक समस्या सिर्जना हुने कुराका साक्षी भएका छन् । त्यसैले अर्को सुखद् बिकल्पको आशामा छन् ।

सुखद बिकल्पका लागि अब नेपालले के गर्नु पर्छ?
“सर्भाईवल बायस”को रुपमा सफल त हैन तर शक्तिशाली र प्रभावशाली देशहरुको अन्धाधुन्ध अनुसरणको रुपमा गरीने लकडाउन, भौतिक दूरी, मास्कको प्रयोग, सफाई तथा स्यानीटाईजरको प्रयोग, आदिबाट मात्र महामारी व्यवस्थापन नहुने स्पष्ट छ । त्यसैले नेपालले पनि यो विशेष र विषम परिस्थितीमा अब्राहम वाल्डले जस्तैफरक कोणबाट विश्लेषण गर्न थाल्नुपर्छ र प्रकोप व्यवस्थापनमा सफल तर कम चर्चामा रहेका देशहरुबाट धेरै कुरा सिक्न सकिन्छ, जस्तैः


१. लक्षित टेस्ट र क्वारेन्टिनः

अलि ढिलो भईसक्यो तर ताईवानले वुहानबाट आउने हरेक मान्छेको टेस्ट र क्वारेन्टिन गरेजस्तै नेपालले पनि भारतबाट आउने हरेक व्यक्तिको एयरपोर्ट र सीमानाकामा निःशुल्क टेस्ट र निःशुल्क होटल क्वारेन्टिनको व्यवस्था गर्नु पर्दछ । टेस्ट र क्वारेन्टिनको सुनिश्चितता बिनाका अन्तर्राष्ट्रिय उडानहरु बन्द गरिनु पर्दछ । नयाँ भेरियन्ट र अन्य संक्रमण सीमा नाका र एयरपोर्टबाट भित्रिंदैछन् भने यता विद्यालय बन्द गरेर वा लकडाउन नै गरेपनि हुने केही हैन, केवल अन्यौल सिर्जना हुने र विद्यार्थीहरुको भविष्यसँग खेलवाड हुने हो ।


२. यात्रामा निशेधाज्ञाःन्यूजील्याण्ड, सिङ्गापुर र भियतनामबाट मूलतः

यात्रामा निशेधाज्ञासिक्नुपर्ने हुन्छ किनकी १सेन्टिमिटर पनि यात्रा क्षमता नभएको भाईरस संसारभरी पुग्न मान्छेकै घोडा चढेको हो । भाईरस सवार मान्छेरुपी घोडाहरुको प्रवेश र आवातजावत बन्द गर्नु एक उत्कृष्ट तथा निर्बिकल्प बिकल्प हो ।


३. प्रभावकारी कन्ट्याक्ट ट्रेसिङः

आईस्ल्याण्डबाट प्रभावकारी कन्ट्याक्ट ट्रेसिङ सिक्नुपर्छ । अस्ति भर्खर नेपाल छिरेर समाजमा बिलुप्त भएका र संक्रमण पुष्टि भएका हरेकको खोजी गरी उनीहरुको विस्तृत कन्ट्याक्ट ट्रेसिङ गर्न आवश्यक दक्षता भएको कन्ट्याक्ट ट्रेसिङ टीमहरु बनाई तत्काल खटाई तिनीहरुलाई परीक्षण र क्वारेन्टिनको दायरामा ल्याउन एक क्षण पनि ढिला गर्नु हुँदैन ।


४. प्रविधीको प्रयोगः

सिङ्गापुरमा प्रयोग भएजस्तै एप र शरिरमा लगाउन मिल्ने डिभाईसको प्रयोगको प्रभावकारीता अध्ययन गरी अवलम्बन गर्न सकिन्छ । बालबच्चा, विद्यार्थी र वृद्धवृद्धाहरुलाई विशेष सुरक्षा व्यवस्थाका प्रविधीहरुको प्रयोग एक वरदान हुनसक्छ जसले मृत्युदर न्यूनीकरणमा सघाउ पु¥र्याउनेछ ।


५. आर्थिक सुरक्षाः

सबैक्षेत्रको समग्र लकडाउन नगरी रणनैतिक गतिबिधी मात्र गर्दा सबै नभई केही क्षेत्रमात्र आर्थिक रुपमा प्रभावित हुने देखिन्छ । नेपालमामूलतः अन्तर्राष्ट्रिय उडानहरु, केही घरेलु उडान र यातायात तथा पर्यटन व्यवसाय अति प्रभावित हुने देखिन्छ । ती व्यवसायीहरुलाई सरकारले आर्थिक संरक्षण, राहत र सरल कर्जाको व्यवस्था गर्न सक्छ । त्यसैगरी कोरोना संक्रमित भई क्वारेन्टिन र आईसोलेशनमा रहने हरेक नागरिकलाई निःशुल्क उपचारको साथमा उक्त अबधीको उसको आय राज्यले भर्पाई गरिदिनु पर्दछ ।


ठूलो होस् वा सानो, समस्या समाधानको तरीका सही हुन त्यसका जड कारणहरुको सही विश्लेषण हुनु जरुरी छ । सरसर्ती हेर्दा उत्कृष्ट समाधान जस्तो देखिए पनि कतिपय विश्लेषणलाई “सर्भाईवल बायस”ले प्रभाव पारेको हुन्छ । समाचारमा धेरै छाउने र नेपालमा राम्रो प्रभाव भएका अमेरिका, भारत, बेलायत, आदि जस्ता देशहरुको रणनीति पछ्याएर के उपलब्धी हासिल भयो, विश्लेषण गरौं । कोभिड–१९ लाई केही हैन, यो एउटा कन्स्पीरेसी मात्र हो भन्नेहरुले पनि धेरै क्षती व्यहोरे भने परम्परागत रुपमा समग्रतामा लकडाउन, क्वारेन्टिन र आईसोलेशन पछ्याउनेहरुले पनि प्रचुर क्षती व्यहोर्नु पर्यो जसको साक्षी हामी आफैं हौं । त्यसैले यसमा सरकार र जनता सब निःस्वार्थ रुपमा विवेकी, सही रुपमाविश्लेषणात्मक र दूरदर्सी हुन जरुरी छ ।
(लेखक लामा विद्यार्थी गुणीय चक्रका विज्ञ एवं शिक्षाकर्मी हुन् ।)