क्रिश्चियन धर्मालम्बीहरूले आज क्रिसमस डे पर्व मनाउँदै


काठमाण्डौं/९- पुस विश्वभरका क्रिश्चियन धर्मालम्बीहरूले आज क्रिसमस डे पर्व हर्षोल्लासका साथ मनाईंदै छन् ।
क्रिश्चियन समुदायका लागि आजको दिन विशेष दिन हो । हरेक वर्ष डिसेम्बर २५ मा येशु ख्रिष्टको जन्मदिनको खुसियालीमा क्रिश्चियन धर्मालम्बीहरूले यो पर्व मनाउने गरीन्छ । यशुको जन्म दुई हजार वर्ष पहिले जेरुसेल्मको बेथलेहममा कन्या मेरीको कोखबाट भएको मानिन्छ । यशुलाई जिसस क्राईस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्याईएको योगदानको सम्झनामा ईस्वी संवत् चलाईएको विश्वास गरिन्छ । त्यसैले आजको दिनमा यशुको सम्झना एवं उहाँले दिनुभएको शिक्षा र उपदेशको मनन गरी एक आपसमा प्रेम प्रकट गर्दै शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ ।
यसैगरी आज क्रिसमस डेको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतले शुभकामना सन्देश दिएका छन् । क्रिसमस डेका अवसरमा सरकारले सम्बन्धित धर्मालम्बीहरूलाई आज सार्वजनिक बिदा दिएको छ । क्रिसमसका अवसरमा आज विश्वभरका क्रिश्चियन धर्मालम्बीहरू चर्चमा गई प्रार्थनालगायतका कार्यक्रम गरी यशु ख्रीष्टको सम्झना गरिँदैछ । यस अवसरमा राष्ट्रिय ख्रिष्टियन महासंघले विभिन्न कार्यक्रम आयोजना गरेको छ ।
क्रिसमसका अवसरमा काठमाडौंको ठमेल, बौद्ध, ललितपुर, भक्तपुर र पोखरालगायतका स्थानमा विशेष रौनक रहेको छ । ठाउंठाउंमा र स–साना पसलहरूदेखि लिएर ठूला सपिङ्ग मलहरूमा क्रिसमस ट्री र झिलिमिली बत्तीलगायतले बजार र व्यापारिकस्थल सजाईएको छ ।
नेपालमा ४ सय वर्ष अघिबाट नै क्रिसमस मनाउन थालिएको राष्ट्रिय ख्रिष्टियन महासंघका पदाधिकारीहरु बताउँछन् । हाल नेपालभर १२ हजारभन्दा बढी चर्च र ३० लाखभन्दा बढी ख्रिष्टियन समुदाय रहेको अनुमान छ । विश्वका अधिकांश देशहरूमा यो पर्वलाई विशेष प्राथमिकता दिई मनाउने गरीन्छ ।