काठमाडौ/ ४ माघ – शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकहरुको जिल्लान्तरको सरुवा रोक्का गर्न पुसमा नै शिक्षा विकास तथा सम्न्वय इकाईलाई निर्देशन दिई सकेको छ । केन्द्रले शिक्षक दरबन्दी मिलानको कार्य भईरहेको र यो कार्यलाई सम्पन्न गर्न केही समय लाग्ने भन्दै जिल्लान्तर सरुवा रोक्का गरेको हो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक वसन्त प्रसाद कोइरालाका अनुसार रिक्त दरबन्दी सार्नुपर्ने अवस्था वा बढी भएका स्थानीय तहबाट कट्टा गरी नपूग भएका स्थानीय तहमा दरबन्दी मिलान गर्नका लागि शिक्षकहरुको जिल्लान्तरको सरुवा रोक्का गर्नु परेको बताएका छन ।
साथै स्थानीय तहमा शिक्षकसहीतको दरबन्दी सार्दा दरबन्दी मिलानमा समस्या हुने र रिक्त दरबन्दी मात्र मिलाउदा सहज हुने भएकोले रिक्त दरबन्दी मिलाउनको लागि शिक्षकहरुको जिल्लान्तर सरुवा रोक्का गरीएको निर्देशक कोईरालाले जानकारी दिएका छन् ।
त्यसैगरी स्वेच्छिक रुपले निवेदन दिएका शिक्षकहरुलाई दरबन्दीसहित स्थान्तरण प्रक्रियामा रहेको समेत उनले खबर एजुकेशनलाई बताए ।
हालसम्म १ सय ८४ वटा दरबन्दी पहिलो चरणमा स्थानान्तरण भएको छ भने दरबन्दी मिलानको कार्य सक्न अझै केहिसमय लाग्ने निर्देशक कोईरालाले जानकारी दिएका छन् ।


