काठमाण्डौ /२८ पुस– तारकेश्वर नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत पूर्वप्राथमिक तहका शिक्षकलाई प्रोत्साहन भत्ता दिने भएको छ ।
नगरपालिकाले सामुदायिक विद्यालयको सिकाइ पद्धतिलाई अझ बढी प्रभावकारी र व्यवस्थित बनाउनका लागि पूर्वप्राथमिक तहका शिक्षकलाई प्रोत्साहन भत्तास्वरुप वार्षिक रु. तीन हजारका दरले दिने निर्णय गरेको हो ।
नगरपालिका क्षेत्रभित्र १९ सामुदायिक विद्यालयहरु छन् । जसमा ९१९ विद्यार्थी पूर्वप्राथमिक तहमा अध्ययनरत छन् । नगरपालिकाले विद्यालयको पाठ्यक्रम ढाँचानुसार कक्षा १ देखि ८ सम्म आफ्नै स्थानीय पाठ्यक्रम तयार गरिसकेको र सोही अनुरुप पाठ्यपुस्तक तयार गरी क्रमशः लागू गरिरहेको छ । त्यस्तैगरि पूर्वप्राथमिक तहका बालबालिकालाई निःशुल्क पोशाक दिने व्यवस्थासमेत गरिएको नगर शिक्षा शाखा प्रमुख होम न्यौपानेले जानकारी दिए ।
शैक्षिक सत्र २०७६ मा कक्षा १ र ६ मा स्थानीय पाठ्यपुस्तक लागू गरिएको छ । आगामी शैक्षिकसत्र २०७८ देखि कक्षा १ देखि ८ सम्म नै स्थानीय पाठ्यपुस्तक लागू गरिने भएको छ ।
पूर्वप्राथमिक तहका शिक्षकलाई प्रोत्साहन भत्तास्वरुप वार्षिक तीन हजार दिने


