एक शिक्षकमा कोरोना संक्रमण देखिए पछि गाउँपालिकाका सबै विद्यालय बन्द

धनकुटा /३ कार्तिक – धनकुटाको जोरपाटी गाउँपालिका १ हात्तिखर्कको भारती माध्यमिक विद्यालयका शिक्षकमा कोरोना संक्रमण देखिएको छ । एक जना शिक्षकमा कोरोना संक्रमण देखिएपछि गाउँपालिकाले सो क्षेत्रका सबै विद्यालयलाई १३ दिन विदा दिएको छ ।

असोज २२ गते सम्म विद्यालयमा पढाइ रहेका ती शिक्षकले विद्यार्थीहरुलाई होमवर्क दिएर आफ्नो घर ९इटहरी० गएका थिए । २७ गते घरबाट फर्किएपछि ज्वरो आएर पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको थियो ।

एकजना शिक्षकमा संक्रमण देखिएको कारण देखाउँदै गाउँपालिका क्षेत्रका सबै विद्यालयलाई दशैंको मौकामा बिदा बढाईएको हो । आईतबार बसेको बिपद् व्यवस्थापन समितिको बैठकले कात्तिक ३ देखि १५ गतेसम्म गाउँपालिका क्षेत्र भित्रका सबै विद्यालयमा सिकाई सहजीकरण बन्द गर्ने निर्णय गरेको गाउँपालिकाले जानकारी दिएको छ ।

गाउँपालिकाको यो निर्णयसँगै गाउँपालिका भित्रका २६ सार्वजनिक विद्यालय र ९ निजी विद्यालय पनि बन्द हुने भएका छन । यसअघि गाउँपालिकाले विद्यालयहरुमा फूलपातीदेखि त्रयोदशीसम्म ७ दिन मात्रै दशैं विदा दिने निर्णय भए पनि एक शिक्षकमा कोरोना देखिए पछि विद्यालयलाई थप ६ दिन बिदा बढाएको हो ।