काठमाडौं/२६ भदौ- शिक्षण सिकाई सहयोग अनुदान शिक्षक समिति झापाले अनुदानमा कार्यरत शिक्षकहरुको रकम निकासाको माग सहित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।
समितिले विगतका वर्षहरुमा शिक्षण सिकाई सहयोग अनुदान कार्यक्रम वापतको रकम सम्बन्धित शिक्षा तथा समन्वय इकाई समिति मार्फत स्थानीय तहको खातामा आर्थिक वर्ष सुरु हुनु अगावै निकासा हुने गरेको थियो । तर, यस आर्थिक वर्ष २०७७/०७८ का लागि निकासा हुनुपर्ने रकम झण्डै दुई महिना बितिसक्दा पनि निकासा नभएको र आउने बारे कुनै सूचना नआएकाले अन्योलता सृजना भएको जनाएको छ । समितिले कतिपय विद्यालयले अनुदानमा कार्यरत शिक्षकहरुलाई अवकाश दिने काम गरिरहेका यस्तो काम कानुन विपरीत भएको बताउँदै तत्काल रोकी काममा निरन्तरता दिन विद्यालयलाई निर्देशन दिएको छ ।
शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्र मार्फत देशैभरिका सामुदायिक विद्यालयका माध्यमिक र आधारभूत तहका अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षकहरुको अभावलाई पूर्णता दिनका लागि शिक्षण सिकाई अनुदानमा शिक्षकहरुको परिपूर्ति गरिएको थियो । समयमै तलब निकासा नभएपछि शिक्षण सिकाई अनुदानमा कार्यरत शिक्षकहरु यतिबेला आन्दोलित बनेका छन् ।