काठमाडौं/२३ भदौ – आज विश्वभरि विभिन्न कार्यक्रमको आयोजना गरी ५४ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै छ ।
‘लिटेरेसी टिचिङ एण्ड लर्निङ इन दि कोभिड १९ क्राइसिस एण्ड बिओण्ड’ भन्ने नाराका साथ विश्वभर साक्षरता दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आव्हानमा साक्षरता दिवस मनाउने गरिएको हो । युनेस्कोले यसवर्ष २० हजार अमेरिकी डलरको अन्तर्राष्ट्रिय पुरस्कार नेपालको सामाजिक संस्था ‘एजिङ नेपाल’ लाई प्रदान गर्ने भएको छ ।
नेपालमा अन्तर्राष्ट्रिय साक्षरता दिवसकै दिन मनाउँदै आएको राष्ट्रिय शिक्षा दिवस यस वर्षदेखि अलग्गै मितिमा मनाउने गरी शिक्षा मन्त्रालयले नयाँ कार्यविधि पारित गरेको छ । सोहि कार्यविधि अनुसार मिति तय गरी राष्ट्रिय शिक्षा दिवस मनाउने शिक्षा मन्त्रालयले जनाएको छ । वि।सं। २०३१ सालबाट ‘शिक्षाको उज्यालो घामबाट कुनै पनि बालबालिकाले बञ्चित हुन नपरोस्’ भन्ने आदर्श वाक्यका साथ नेपालमा राष्ट्रिय शिक्षा दिवस मनाउन थालिएको थियो ।