काठमाडौं/२३ भदौ – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन (एन-प्याब्सन) कर्णाली प्रदेशले सोमबार विद्यालयको ताला चाबी कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाही र सामाजिक विकास मन्त्री दल रावललाई बुझाएका छन् । एन-प्याब्सन कर्णालीले विद्यालयका जनशक्तिको उचित व्यवस्थापन गर्दै उचित मुल्यांकन गरी मुअब्जा सहित सरकारिकरण गर्न चार बुँदे आधार सहित विद्यालयको ताला चाबी बुझाएको हो ।
संस्थागत विद्यालयमा अहिलेको परिस्थितिमा सरकारले कुनै पनि शुल्क नलिने निर्देशन दिएको र शिक्षक, कर्मचारी महशुल, घरभाडा बैंकको ब्याजदर लगायतका समस्या समाधानको उचित निकास नभएकाले विद्यालयको ताला चाबी बुझाएको एन-प्याब्सन कर्णालीका अध्यक्ष कमल कुमार सिंहले बताए ।