काठमाडौं/ १९ भदौ – बागमती प्रदेश सरकारले तयार पारेको शिक्षा नीति संशोधन गर्न विज्ञहरुले सुझाव दिएका छन् ।
बिहीबार बाल अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न १५ वटा सञ्जालहरुको सक्रियतामा आयोजित भर्चुअल अन्तरक्रिया कार्यक्रममा विज्ञहरुले शिक्षा नीति संशोधन गरी केही विषयहरु थप गर्न सुझाव दिएका छन् ।
प्रा.डा. मनप्रसाद वाग्लेले मस्यौदामा भएका ३३ वटा शिक्षाका नीतिहरु मध्ये १७ वटा स्वागत योग्य र बाँकीका नीतिहरु सुधार गर्नुपर्ने बताए । उनका अनुसार नीतिले विद्यालय शिक्षामा भन्दा पनि बढी उच्च शिक्षा र विश्व विद्यालयको शिक्षालाई बढी जोड दिएको छ ।
यसैगरी, शिक्षाविद् श्याम श्रेष्ठले प्रस्तुति दिँदै नीतिको उद्देश्यमा नै वैज्ञानिक व्यक्तित्व उत्पादन गर्ने उद्देश्य समावेश गर्नुपर्ने बताए । उनले विद्यार्थीहरुलाई जीवन उपयोगी सीपसँग जोड दिनुपर्ने कुरा जोड दिए ।
कार्यक्रममा सहभागीहरु पूर्व शिक्षा मन्त्री डा. गंगालाल तुलाधर, डा. मिनाक्षी दाहाल, पूर्व शिक्षा सचिव महाश्रम शर्मा, शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा लगायत शिक्षाविद् विद्यानाथ कोईराला लगायतको सहभागिता रहेको थियो ।